भारतीय ब्याटर स्मृति मन्धानाले टि-२० क्रिकेटमा रेकर्ड बनाइन्

डिसी नेपाल
४ असोज २०८३ ११:३२

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धानाले आइतबार एसियाली खेलकुद (एशियन गेम्स) २०२६ को सेमिफाइनल खेलमा इतिहास रचेकी छन्।

मन्धाना महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ब्याटर बनेकी छन्।

जापानको कोरोजी स्पोर्ट्स पार्कमा बंगलादेशविरुद्ध खेल्दै मन्धानाले यो उपलब्धि आफ्नो नाममा गरेकी हुन्। उनले न्युजिल्यान्डकी सुजी बेट्सलाई पछि पारिन्।

मन्धानाले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा हालसम्म १७८ खेलका १७१ पारीहरूमा ४,७६० भन्दा बढी रन बनाएकी छन्।

त्यस्तै, बेट्सले आफ्नो करियरका १८६ खेलका १७८ पारीहरूमा ४,७५८ रन बनाएकी छन्।

मन्धाना महिला टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा बढी रन बनाउने (पिफ्टी प्लस स्कोर गर्ने) मामिलामा पनि शीर्ष स्थानमा छिन्। उनको नाममा हालसम्म दुई शतक र ३६ अर्धशतक दर्ता छन्।

यसबाहेक उनी यस ढाँचामा भारतका लागि सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याटर पनि हुन् र १०० छक्काको आँकडाभन्दा केवल दुई छक्का मात्र टाढा छिन्।

मन्धानाले यसै महिना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने रेकर्ड पनि आफ्नो नाममा गरेकी थिइन्। दुबईमा खेलिएको एसिया कप २०२६ का क्रममा उनले भारतकी पूर्वकप्तान मिताली राजलाई पछि पारेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *