एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज, निर्वाचन समीक्षासहितका विषयमा छलफल हुने

डिसी नेपाल
५ असोज २०८३ ८:३६

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी दिशा, निर्वाचन समीक्षा तथा सांगठनिक विषयमा छलफल हुने भएको छ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने जनाइएको छ। बैठकमा सहभागी सबै केन्द्रीय कमिटी सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराइने बताइएको छ।

केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्न त्यसअघि बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक बस्नेछ। पार्टी केन्द्रीय कार्यालयमै बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने विषय तथा कार्यसूचीलाई अन्तिम रूप दिनेछ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार आइतबारदेखि सुरु भएको सचिवालय बैठकको निरन्तरता आज पनि हुने भएको हो। निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि सचिवालय बैठक स्थगित भएको थियो।

निर्वाचनमा पार्टीको प्रदर्शन, चुनावी परिणामको समीक्षा, संगठनको अवस्था तथा आगामी राजनीतिक र सांगठनिक रणनीतिबारे केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने तयारी छ।

निर्वाचन समीक्षाका क्रममा पार्टीभित्र उठेका विषय तथा कार्यदलले दिएको सुझावलाई समेत बैठकमा छलफलको विषय बनाइने अपेक्षा गरिएको छ। बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्ने अवसर दिइने भएकाले पार्टीको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे विभिन्न धारणा सार्वजनिक हुने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *