कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

डिसी नेपाल
५ असोज २०८३ १९:३७

सुनसरी। बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसकेका छन्। चार दशकदेखि श्रीलंका टप्पुमा बस्दै आएका माझीको अहिले आफ्नै नाममा जमिन समेत छैन।

‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन, अहिले त्रासमा बस्नुपरेको छ,’ उनले भने, ‘असार महिनादेखि नै कोशीले कटान सुरु गर्‍यो अहिले पानी परेका बेला कहिले राति उठेर नदीमा ठूलो बाढी पो आएको छ कि भनेर हेर्न जान्छु। बेलुका सुत्न पनि डर लाग्छ, कहिलेकाहीँ जाग्राम नै बस्नुपर्छ।’

पहिला वन्यजन्तुको समेत त्रास हुने गरेकोमा अहिले बत्ती जडान भएपछि त्यसमा केही कमी आए पनि कोशीको डुबान र कटानको जोखिम भने उस्तै रहेको उनले बताए। ‘अब यहाँबाट अन्तै सरेर जाऊँ भने पनि जाने ठाउँ छैन, खै के गर्ने,’ उनले भने।

हरेक वर्ष बर्खा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटना दोहोरिन्छन्। अत्यधिक वर्षाका कारण ठूलो जनधनको क्षति हुने क्रम पनि जारी छ।

बाढी तथा डुबानको उच्च जोखिममध्येको सुनसरी जिल्ला पनि एक हो। बर्खायाममा सप्तकोशीसहित विभिन्न नदीमा आउने बाढीले बस्ती डुबानमा पार्ने र खेतीयोग्य जमिन बगाउने क्रम दोहोरिँदै आएको छ।

सप्तकोशी नदी किनारका बस्तीका लागि बाढीसँगै नदीको तीव्र कटान पनि उत्तिकै ठूलो चुनौती बनेको छ। विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टप्पु तथा श्रीलंका टप्पुका बासिन्दा वर्षेनी बाढी र कटानको दोहोरो त्रासमा जीवन बिताउन बाध्य छन्।

नदीले वर्षेनी खेतीयोग्य जमिन र बस्ती कटान गर्दै जोखिम बढाइरहे पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन।

बर्खा सुरु भएसँगै सप्तकोशीको बहाव बढ्दा सुनसरी र उदयपुरको सिमानामा पर्ने श्रीलंका टप्पुका बासिन्दाको चिन्ता पनि बढ्ने गरेको छ। बराहक्षेत्र नगरपालिका–६ का पदम राईले भने, ‘हामी यहाँ पहिला पहाडबाट बसाइँ सरेर आउँदा कोशी नदी बस्तीबाट धेरै टाढा बग्ने गरेको थियो। हिले भने नदी बस्ती नजिकै आइपुगेको छ।’

२०७४ सालदेखि सपरिवार श्रीलंका टप्पुमा बस्दै आउनु भएका राईले एक बिघा जमिनमा धान र मकै खेती गर्नुका साथै गाईभैँसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। वर्षभरि मिहेनत गरेर खेतीपाती र पशुपालन गरे पनि हरेक वर्ष कोशीको कटान र बाढीले घर तथा खेत जोखिममा पार्ने गरेको उनले बताए।

तीन महिनादेखि नै कटान सुरु भएको छ। हामी सबै मिलेर श्रमदान गर्दै बालुवा र सिमेन्टका बोरा भरेर किनार जोगाउने प्रयास गरिरहेका छौँ। उनले भने, ‘तर ठूलो बाढी आयो भने यो प्रयासले धान्न सक्दैन। अहिलेका लागि केही राहत भए पनि यो स्थायी समाधान होइन।’

वर्षभरको खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि हरेक बर्खामा बाढी र कटानले आफूहरूको मिहेनत बगाइदिने हो कि भन्ने चिन्ता रहने गरेको उनले सुनाए।

कोशीले तीव्र कटान गर्न थालेपछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा नगर प्रहरी संयुक्त रूपमा श्रमदान गरी अस्थायी तटबन्ध निर्माण गर्दै बस्ती जोगाउने प्रयास जारी छ। सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार वर्षेनी बढ्दो कटानका कारण चिलिया टप्पु र श्रीलंका टप्पुको बस्ती उच्च जोखिममा पर्दै गएको छ।

कटान नियन्त्रणका लागि यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौ वटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परसमेत नदीको कटानमा पर्दै गएका छन्।

‘बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाको समन्वयमा श्रमदान गरेर कटान रोक्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्ने जस्ता उपाय अपनाएका छौँ। तर यी तत्कालका लागि अस्थायी उपाय मात्र हुन्। दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण नगरी समस्या समाधान हुन सक्दैन।’

सप्तकोशीले धार परिवर्तन गरेर बनाएको चिलिया टापु अहिले पनि हजारौँ मानिसको आश्रयस्थल हो। बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक बर्खासँगै नदीको बहाव बढ्ने गरेको छ। यसवर्ष पनि चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि सयौँ परिवार त्रासमा बाँचिरहेका छन्।

सप्तकोशीको पश्चिमी भँगालोले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि अहिले ६०० घरपरिवार उच्च जोखिममा छन् भने केही दिनअघि करिब २२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

केही परिवार अहिले पनि चौरमा टहरामा बसिरहेका छन्। बराहक्षेत्र नगरपालिका–६ का बद्रीकुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुङ्गाको जाली लगाएर निर्माण गरिदिएको ‘स्पर’ हुँदाहुँदै पनि कोशीले कटान गरेको छ। बराहक्षेत्र–९ तर्फ भने यस्ता स्परसमेत नभएकाले नदीको कटान अझ तीव्र भइरहेको उनले बताए।

बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका राकेशकुमार महतोको करिब चार बिघा जग्गा सप्तकोशी नदीको कटानले बगाएपछि उनी अहिले अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्।

महतोले अहिले करिब १० कट्ठा जग्गा भाडामा लिएर टमाटर, बोडी, साग, भिन्डीलगायत मौसमी तरकारी खेती गरेका छन्। त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट गोलभेँडा खेती गरिएको छ भने बाँकी जग्गामा विभिन्न मौसमी तरकारी लगाइएको उनले बताए।

‘पहिला करिब चार बिघा जग्गा थियो। सबै सप्तकोशी नदीले कटान गरेर लग्यो। अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छु,’ महतोले भने, ‘पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि पाल्थेँ। कोसी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि आवश्यक चरन गर्ने ठाउँ पनि छैन। अहिले गाईभैँसी पाल्न पनि छाडेको छु।’

अहिले तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको उनले बताए। ‘बर्सेनि सप्तकोशीले कटान गरिरहेको छ। अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन कोशीले बगाएर लैजाला भन्ने डर छ,’ उनले भने।

बर्खा सुरु भएपछि श्रीलंका टप्पुका बासिन्दाले हरेक वर्ष बाढी र कटानको त्रास भोग्दै आएका छन्। बर्सेनि खेतीयोग्य जमिन साँघुरिँदै जानु, घर नजिकै नदी आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिँदा यहाँका नागरिकका लागि बर्खायाम चिन्ताको विषय बन्ने गरेको छ।

वर्षभरको खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक वर्ष बर्खामा बाढी र कटानले सबै मिहेनत बगाइदिने चिन्ता स्थानीयलाई उस्तै रहने गरेको छ।

उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार बेलका–८ क्षेत्रमा गरिएको संरक्षण कार्यले केही राहत दिएको भए पनि तल्लोतटीय क्षेत्रमा नदीको कटान रोकिएको छैन। सप्तकोशीले बिस्तारै धार पश्चिमतर्फ मोड्ने संकेत देखिएको र त्यहाँ बाक्लो मानव बस्ती रहेकाले जोखिम झन् बढ्दै गएको उनले बताए।

गत वर्ष कटान रोक्ने उद्देश्यले निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत अहिले नदीको बहावमा डुब्न थालेका छन्। असारदेखि सुरु भएको कटान अब झन् बढ्दै जाने खतरा रहेको छ। बलौटे माटो भएकाले दैनिक रूपमा जमिन बगिरहेको छ भने संरक्षणका लागि राखिएका ढुङ्गा र तारजाली नदीले बगाउँदै लगेको छ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले भने, ‘कटान रोक्न नगरपालिकाले आफ्नो क्षमताअनुसार आवश्यक सबै स्रोतसाधन परिचालन गरेको छ।’

कटान प्रभावित क्षेत्रमा जेसिबी, ट्याक्टर, बालुवा ढुवानीका साधन, जाली, बोरा, सिमेन्टलगायत आवश्यक सामग्री उपलब्ध गराएर स्थानीय र सुरक्षा निकायसँग समन्वय गरी तटबन्ध निर्माण तथा कटान नियन्त्रणको काम भइरहेको उनले बताए।

कोशी कटानपछि विस्थापित परिवारलाई बराहक्षेत्र नगरपालिकाले तत्कालका लागि प्रतिपरिवार १० हजार उपलब्ध गराएको छ।

नगरप्रमुख कार्कीले भने, ‘कोशीको कटान यहाँको मात्र समस्या नभई राष्ट्रिय सरोकारको विषय हो। नगरपालिकाको सीमित बजेट र स्रोत साधनले बर्सेनि दोहोरिने कटानको स्थायी समाधान सम्भव छैन। हामीले आफ्नो तर्फबाट गर्न सकिने सबै प्रयास गरिरहेका छौँ। तर सप्तकोशी जस्तो शक्तिशाली नदी नियन्त्रणका लागि वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन संरचना निर्माण गर्न आवश्यक छ।’

उपयुक्त स्थानमा ड्याम, स्पर तथा अन्य नदी नियन्त्रणका संरचना निर्माण गर्न सकिए कटान धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

‘यदि कटान बढ्दै गएर बस्तीमा बाढी पस्यो भने ठूलो धनजनको क्षति हुन सक्छ। दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको सहयोग, पर्याप्त बजेट र आवश्यक परे छिमेकी मुलुकसँग कूटनीतिक पहलसमेत आवश्यक छ,’ नगरप्रमुख कार्कीले भने।

कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टप्पुका केही बासिन्दा यस वर्ष सप्तकोसीपारि पूर्वतर्फको प्रकाशपुरमा बसाइँ सरिसकेका छन्। केही परिवार भने वर्षौंदेखि बस्दै आएको ठाउँ छाडेर झापा बसाइँ गएका छन्। श्रीलंका टप्पुका बालीचरण कविरथ पनि प्रकाशपुर सर्ने तयारीमा छन्।

‘धन्न जसोतसो गरेर प्रकाशपुरमा एक कठ्ठा जग्गा जोडिएको छ। अब हामी पनि त्यतै सर्ने तयारी गर्दैछौँ। यहाँ कोसीले कटान गरिरहेको छ, ज्यान जोखिममा राखेर बस्नु हुँदैन,’ उनले भने।

करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ। धान, मकै, तरकारी खेती, पशुपालन तथा दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन्।

हरेक बर्खामा बाढी र कटानको जोखिमसँग जुध्दै स्थानीयले श्रमदान गरेर अस्थायी तटबन्ध निर्माण तथा सामूहिक पहलमार्फत बस्ती र खेतीयोग्य जमिन जोगाउने प्रयास गर्दै आएका छन्। तर यस्ता प्रयासले तत्काल केही राहत दिए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *