जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

डिसी नेपाल
६ असोज २०८३ १९:५४

काठमाडौं।  सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ अनुसार सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकले यो सुविधा पाउनेछन्।

नयाँ मापदण्डअनुसार आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२) का लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षाका साथै पोशाक, पाठ्यपुस्तक तथा सिकाइ सामग्रीका लागि नगद अनुदान स्थानीय तहमार्फत उपलब्ध गराइनेछ।

त्यसैगरी, स्नातक तह अध्ययनका लागि सबै विश्वविद्यालयले आफ्ना छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षित गर्नुपर्नेछ। यदि उक्त कोटामा छनोट हुन नसकेमा विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहितको छात्रवृत्ति दिइने व्यवस्था गरिएको छ। संस्थागत (निजी) विद्यालयहरूले पनि आफ्ना छात्रवृत्ति कोटामा यी लाभग्राहीलाई समावेश गर्नुपर्नेछ।

यो सुविधा लिनका लागि आधारभूत र माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा र स्नातक तहका विद्यार्थीले क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ। आवेदनका साथमा लाभग्राही परिचयपत्र, नागरिकता/जन्मदर्ता, नाता प्रमाणित र अध्ययनरत संस्थाको सिफारिसपत्र अनिवार्य गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *