चोलेन्द्रशमशेरसँग भेट्न प्रहरीको रोकाबट, मानव अधिकार आयोगले जनायो आपत्ति

डिसी नेपाल
११ असोज २०८३ १७:२३

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाउँदै आफ्नो संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गरेको छ।

चोलेन्द्रशमशेरको अवस्थाबारे अनुगमन गर्न आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई उनीसँग भेटेर जानकारी लिन अनुमति नदिएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रहरीको उच्च नेतृत्वसँग अनुगमन गर्न नदिइनुको कारणबारे जानकारी माग्दा समेत टोलीलाई स्पष्ट जवाफ दिइएन।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने र मानव अधिकार संरक्षणका लागि सुधार आवश्यक देखिए सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

उक्त संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमनमा गएको आयोगको टोलीलाई रोकिएको घटनाप्रति आयोगले खेद व्यक्त गरेको छ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन तथा आयोगलाई प्राप्त अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

गएराती प्रहरीले नियन्त्रणमा लिएका जबरालाई भने आजै अपराहन्न परिवारको जिम्मा लगाएको बताइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *