कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
काठमाडौं। वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ।
गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख ५१ हजारसहित सम्मान गरिएको हो।
यसैगरी ‘डायस्पोरा गीतकार सम्मान’ नीलम आङ्बुहाङ राईलाई १५ हजार, ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ नइन्द्र लोहोरुङ राईलाई २५ हजार २५२ तथा ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजार रुपैयाँसहित प्रदान गरिएको छ।
यस वर्षदेखि सुरु गरिएको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई पाँच हजार ५५५ रुपैयाँसहित प्रदान गरियो। ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालनको ‘भोलिको आश उज्यालो प्रकाश’ कृतिलाई प्रदान गरिएको छ।
समारोहमा अग्रज गीतकारका १० वटा कालजयी गीत प्रत्यक्ष सङ्गीतसहित प्रस्तुत गरिएको थियो। कार्यक्रममा सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले कार्यक्रमका लागि छुट्याइएको रकममध्ये एक लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment