बहुआयामिक डोल्पा: प्रकृति, संस्कृति र समृद्धिको प्रचुर सम्भावना

डिसी नेपाल
१३ असोज २०८३ ७:२५

कर्णाली।  नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा क्षेत्रफलका हिसाबले मात्र ठूलो होइन, प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक सम्पदाका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण जिल्ला हो।

हिमाल, उच्च पहाडी भूभाग, गहिरा खोँच, नदी, ताल, झरना, प्राचीन गुम्बा, मौलिक संस्कृति र दुर्लभ वन्यजन्तुले डोल्पालाई नेपालको विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाएका छन्।

दक्षिणतर्फ धौलागिरि हिमश्रृङ्खला, पश्चिममा सिस्ने र कान्जिरोवा हिमाल तथा उत्तरमा तिब्बती पठारले घेरिएको यो जिल्ला भौगोलिक रूपमा कठिन भए पनि पर्यटन र जलविद्युत्का हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र हो।

यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक मौलिकताले विश्वका पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ। तर सडक, सञ्चार, विद्युत्, स्वास्थ्य, आवास, विमानस्थल, पदमार्गलगायत पर्यटन पूर्वाधार कमजोर हुँदा उपलब्ध सम्भावनाको तुलनामा लाभ लिन सकिएको छैन। डोल्पाको हावापानी तीन भागमा विभाजन भएको छ।

प्रकृति र संस्कृतिको संगम

जिल्लाको पर्यटनलाई एउटै क्षेत्रमा सीमित गरेर हेर्न सकिँदैन। तल्लोदेखि उपल्लो डोल्पासम्म फरक–फरक भूगोल, संस्कृति र प्राकृतिक आकर्षण रहेका छन्।

फोक्सुण्डो ताल, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, शे गुम्बा, धो तराप, छार्का भोट, साल्दाङ, तिन्जे, रिङ्मो, सुलीगाड झरना (फोक्सुण्डो झरना), जगदुल्ला क्षेत्रमा रहेका जगदुल्ला ताल, प्रेम ताल र राक्षस ताल पनि उत्तिकै महत्वपूर्ण रहेका छन्। सदरमुकाम दुनैबाट कागबेनी हुँदै उपल्लो डोल्पा जोडिने पदमार्ग तथा विभिन्न उच्च हिमाली भञ्ज्याङ डोल्पाका प्रमुख पर्यटकीय सम्पदा हुन्।

तालैतालको भण्डार उपल्लो डोल्पा

डोल्पाको पर्यटन भन्नासाथ सबैभन्दा पहिले सम्झिने नाम हो- फोक्सुण्डो ताल। समुद्री सतहबाट करिब ३,६३९ मिटरको उचाइमा रहेको यो ताल गहिरो नीलो पानी, वरिपरिका चट्टानी पहाड र हिमाली भू-दृश्यका कारण विश्वकै आकर्षक उच्च हिमाली तालमध्ये एकका रूपमा परिचित छ।

तालसँगै रहेको रिङ्मो गाउँ, प्राचीन गुम्बा र सुलीगाड झरनाले (फोक्सुण्डो झरना) यस क्षेत्रलाई थप आकर्षक बनाएका छन्। फोक्सुण्डो ताललाई केन्द्र बनाएर पदयात्रा, प्रकृति अवलोकन, फोटोग्राफी, धार्मिक पर्यटन र साहसिक पर्यटनको विस्तार गर्न सकिन्छ।

छार्का ताङसोङ गाउँपालिकामा वाङवुर (पङभोर) ताल, सेरतो ताल, याक ताल, चाक्चु ताल, छार्का किरफुक ताल, छार्का ताङसोङ–१ स्थित छार्कभोटमा स्थानीय युवाहरूले पहिचान गरेको पङभोर ताल रहेका छन्।

त्यस्तै डोल्पोबुद्धमा कुन्ख्येन फालक ताल-डोल्पोबुद्ध-६, फालगाउँको हिमाली क्षेत्रमा स्थानीयले पहिचान गरेको ताल हो। छार्का ताङसोङका वाङवुर/पङभोर, सेरतो, याक, चाक्चु, छार्का किरफुक तथा डोल्पोबुद्धको कुन्ख्येन फालक प्रमुख देखिन्छन्।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

डोल्पाको अर्को ठूलो सम्पदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो। उच्च हिमाली जैविक विविधताले भरिएको यस क्षेत्रमा हिमचितुवा, नाउर, कस्तुरी मृग, खैरो ब्वाँसो, हिमाली थार, हिमाली कालो भालुलगायत वन्यजन्तु पाइन्छन्। सबैभन्दा बढी हिमचितुवा पाइने क्षेत्रका रूपमा समेत यसलाई लिइन्छ।

निकुञ्ज क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गी, पुतली तथा वनस्पति पाइने भएकाले वन्यजन्तु तथा प्रकृति पर्यटनको ठूलो सम्भावना छ। विशेषगरी हिमचितुवा अवलोकन, अनुसन्धान पर्यटन र जैविक विविधता अध्ययनका लागि डोल्पालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिन्छ।

उपल्लो डोल्पाको मौलिक संसार

डोल्पाको पर्यटनमा उपल्लो डोल्पाको योगदान विशेष छ। तीन हजार छ सय मिटरभन्दा माथिको उचाइमा रहेका छार्का, धो, तिन्जे, साल्दाङ, डोल्पो बुद्धलगायत क्षेत्रले नेपालको अन्य भूभागभन्दा बिल्कुलै फरक अनुभव प्रदान गर्छन्।

११औँ शताब्दीमा स्थापना भएको शे गुम्बा उपल्लो डोल्पाको धार्मिक तथा सांस्कृतिक केन्द्र हो। ११ वर्षमा एक पटक लाग्ने शे मेलाले यहाँको मौलिक धार्मिक परम्परा र सांस्कृतिक जीवनलाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको छ।

धो तराप, छार्का भोट र साल्दाङका बस्तीहरू उच्च हिमाली जीवनशैली, मौलिक वास्तुकला, परम्परागत वेशभूषा, खानपान तथा धार्मिक संस्कृतिका जीवित संग्रहालयजस्ता छन्।

सन् १९९९ मा फ्रान्सेली चलचित्रकर्मी एरिक भ्यालीद्वारा निर्देशित तथा ओस्कारमा मनोनीत चलचित्र ‘हिमालय क्याराभान’ ले उपल्लो डोल्पाको जीवन, संस्कृति र प्राकृतिक अवस्थालाई विश्वसामु पुर्‍यायो। यसले डोल्पाको अन्तर्राष्ट्रिय पर्यटन पहिचान निर्माणमा महत्वपूर्ण योगदान गरेको छ।

प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, जैविक विविधता र साहसिक पर्यटनका दृष्टिले डोल्पा नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। दुर्गम हिमाली भूगोलमा फैलिएको डोल्पामा हिमालदेखि ताल, वन्यजन्तुदेखि प्राचीन संस्कृति र स्थानीय जीवनशैलीसम्मका अनेकौँ आकर्षण रहेका छन्।

डोल्पा पुग्ने पर्यटकले यहाँका अग्ला पहाड, कन्दरा, खोला-नाला, वन-जंगल, हिमाली बस्ती तथा स्थानीय समुदायको जीवनशैलीलाई प्रत्यक्ष अनुभव गर्न सक्छन्। प्रकृतिसँगै यहाँको इतिहास, भाषा, धर्म, कला, संस्कृति र परम्पराले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

डोल्पाबाट धौलागिरि हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुलीलगायतका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। उत्तरी क्षेत्रमा तिब्बततर्फ फैलिएका हिमाली भू-दृश्यले डोल्पाको प्राकृतिक आकर्षणलाई थप बढाएको छ।

डोल्पाको अर्को महत्वपूर्ण विशेषता यसको जैविक विविधता हो। बोन धर्म, प्राचीन हिमाली गाउँ, विभिन्न जातजातिको मौलिक संस्कृति तथा परम्पराले डोल्पालाई अन्य पर्यटकीय क्षेत्रभन्दा फरक पहिचान दिएको छ। साहसिक पदयात्राका लागि समेत डोल्पा उपयुक्त गन्तव्य मानिन्छ।

वन्यजन्तु संरक्षणमा स्थानीय समुदाय, राष्ट्रिय निकुञ्ज र विभिन्न संघसंस्थाबीचको सहकार्यले पनि महत्वपूर्ण भूमिका खेलेको छ। पर्यटकले यहाँ वन्यजन्तुको बासस्थान तथा संरक्षणका प्रयासबारे प्रत्यक्ष जानकारी लिन सक्ने अवसर पाउँछन्।

डोल्पाको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणको अर्को महत्वपूर्ण पक्ष हो। मृत्यु संस्कार, बहुपति प्रथालगायतका विशिष्ट सामाजिक तथा सांस्कृतिक परम्परा यहाँको पहिचानसँग जोडिएका छन्। डोल्पो समुदायको भाषा, लिपि, कला, साहित्य, धार्मिक परम्परा र ऐतिहासिक सम्पदा हिमाली सभ्यताको महत्वपूर्ण हिस्सा मानिन्छ।

त्यसैगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, वनस्पति तथा वन्यजन्तु संरक्षणको अवस्था अध्ययन गर्न चाहने अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि पनि डोल्पा महत्वपूर्ण क्षेत्र बनेको छ।

यहाँ पुग्ने पर्यटकले हिमाली प्रकृतिको प्रत्यक्ष अनुभूति मात्र होइन, हावा, पानी, माटो, घाम र स्थानीय जीवनशैलीसँग जोडिएको प्राकृतिक वातावरणलाई नजिकबाट अनुभव गर्न पाउँछन्। यही कारण डोल्पालाई साहसिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा अध्ययन पर्यटनको सम्भावना बोकेको बहुआयामिक गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय सरोकारवालाहरू बताउँछन्।

पर्यटन पूर्वाधारको विकास, प्रचारप्रसार, स्थानीय उत्पादनको बजारीकरण र पर्यटकमैत्री सेवा विस्तार गर्न सके डोल्पाको पर्यटनले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्ने सम्भावना छ0

। दुर्गमतालाई चुनौतीका रूपमा मात्र नभई मौलिकता र प्राकृतिक सम्पदाको विशेषताका रूपमा उपयोग गर्न सके डोल्पा नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ।

धार्मिक पर्यटनको ठूलो सम्भावना

डोल्पा बौद्ध, बोन तथा स्थानीय धार्मिक परम्पराको संगमस्थल हो। यहाँका गुम्बा, चैत्य, माने, धार्मिक स्थल तथा प्राचीन मूर्तिहरू धार्मिक तथा सांस्कृतिक पर्यटनका महत्वपूर्ण आधार हुन्।

शे गुम्बा, त्शोवा गुम्बा, धो तराप तथा साल्दाङ क्षेत्रका धार्मिक सम्पदालाई संरक्षण गरी धार्मिक पर्यटनको विशेष सर्किट निर्माण गर्न सकिन्छ। धार्मिक पर्यटकका लागि केवल गुम्बा देखाउने मात्र नभई स्थानीय धार्मिक संस्कार, पर्व, पूजा, कला, संगीत, वास्तुकला र मौलिक जीवनशैलीलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ। डोल्पा जडीबुटीका दृष्टिले पनि धनी जिल्ला हो।

यार्सागुम्बा, जटामसी, पाँचऔँले, पदमचाल, चिराइतो, कटुकी, सुगन्धवाल, हिमाली लसुन तथा विभिन्न प्रजातिका च्याउ यहाँ पाइन्छन्। यार्सागुम्बा स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। तर यसको अनियन्त्रित संकलन र वातावरणीय परिवर्तनका कारण दीर्घकालीन संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र बेच्नुको सट्टा स्थानीय स्तरमै प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्न सके स्थानीय समुदायले बढी लाभ लिन सक्छन्। यससँगै जडीबुटी अध्ययन, अनुसन्धान तथा जैविक पर्यटनलाई पनि जोड्न सकिन्छ।

यहाँको परम्परागत अर्थतन्त्र पशुपालनसँग गहिरो रूपमा जोडिएको छ। याक, चौँरी, भेडा, च्याङ्ग्रा, घोडा तथा खच्चड स्थानीय जीवनका महत्वपूर्ण आधार हुन्। याकको दूधबाट छुर्पी, घिउलगायत सामग्री उत्पादन गर्न सकिन्छ।

भेडाको ऊनबाट बख्खु, दोचा, कम्बललगायत मौलिक सामग्री उत्पादन हुने गरेको छ। यस्ता स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ‘डोल्पो ब्रान्ड’ निर्माण गर्न सकिन्छ।

पर्यटकलाई स्थानीय खानपान, ऊनबाट बनेका सामग्री, हस्तकला, मौलिक पोशाक र स्थानीय कृषि उत्पादन बिक्री गर्ने व्यवस्था मिलाउन सके पर्यटनको लाभ गाउँसम्म पुर्‍याउन सकिन्छ।

जलस्रोतमा धनी डोल्पा

डोल्पाको पर्यटनसँगै जलविद्युत्को सम्भावना पनि उत्तिकै महत्वपूर्ण छ। ठूलीभेरी, भेरी, जगदुल्ला, सुलीगाड, ताराप खोला तथा अन्य हिमाली नदी र खोलाले डोल्पालाई जलस्रोतको दृष्टिले समृद्ध बनाएका छन्। जगदुल्ला जलविद्युत आयोजना निर्माण चरणमै गएको छ।

उच्च हिमाली भूगोल, तीव्र बहाव र वर्षभरि पानीको उपलब्धताले डोल्पाका नदी तथा खोलामा जलविद्युत् उत्पादनको सम्भावना देखिन्छ। तर भौगोलिक कठिनाइ, कमजोर सडक तथा प्रसारण पूर्वाधार, लगानीको अभाव र आयोजना निर्माणको उच्च लागतका कारण जलविद्युत्को सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

जलविद्युत् विकास डोल्पाको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बन्न सक्छ। स्थानीय नदीमा उत्पादन हुने विद्युतले जिल्लाको घरेलु तथा औद्योगिक आवश्यकता पूरा गर्नुका साथै भविष्यमा अतिरिक्त विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर आम्दानीको स्रोत बनाउन सक्छ।

जगदुल्ला र ठूलीभेरीको सम्भावना

डोल्पाका जगदुल्ला र ठूलीभेरीलगायत नदी तथा खोलामा जलविद्युत् विकासका लागि विभिन्न सम्भावना पहिचान भएका छन्। जगदुल्ला क्षेत्रको जलविद्युत् सम्भावनाले डोल्पाको ऊर्जा विकासमा विशेष महत्व राखेको छ।

जलविद्युत् आयोजना निर्माण हुँदा त्यसको लाभ स्थानीय समुदायले पाउने सुनिश्चितता गर्न आवश्यक छ। स्थानीयलाई रोजगारी, शेयरमा सहभागिता, प्रभावित क्षेत्रको पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यमा लगानी र उत्पादनपछिको आम्दानीमा स्थानीय हिस्सेदारीको व्यवस्था गरिनुपर्छ।

जलविद्युत् विकास गर्दा वातावरणीय प्रभावलाई भने बेवास्ता गर्न हुँदैन। हिमाली पारिस्थितिक प्रणाली अत्यन्त संवेदनशील भएकाले प्रत्येक आयोजना वातावरणीय अध्ययन, स्थानीय सहभागिता र दीर्घकालीन जोखिम मूल्याङ्कनका आधारमा निर्माण गर्नुपर्छ।

बदलिनसक्छ जनजीवन

यहाँको पहुँच विस्तार हुनु भनेको केवल घरमा बत्ती बल्नु मात्र होइन, यसले शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, कृषि, उद्योग र रोजगारीको क्षेत्रमा परिवर्तन ल्याउन सक्छ।

विद्युत् पुगेपछि विद्यालयमा कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढाउन सकिन्छ। स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज हुन्छ। स्थानीय उत्पादनको प्रशोधन तथा भण्डारण गर्न सकिन्छ। होटल, होमस्टे र पर्यटन व्यवसाय सञ्चालनमा पनि सहजता हुन्छ।

सौर्य ऊर्जा, लघु जलविद्युत् तथा अन्य वैकल्पिक ऊर्जाको प्रयोगलाई पनि तत्कालका लागि विस्तार गर्न सकिन्छ। विशेषगरी राष्ट्रिय प्रसारण लाइन पुग्न लामो समय लाग्ने उच्च हिमाली बस्तीमा स्थानीय जलस्रोतमा आधारित लघु जलविद्युत् र सौर्य ऊर्जालाई प्राथमिकता दिन आवश्यक छ।

विद्युत् र पर्यटनलाई सँगसँगै अघि बढाउन सके डोल्पामा नयाँ आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ।

सडक र हवाई पूर्वाधार

डोल्पाको पर्यटन विकासमा सबैभन्दा ठूलो चुनौती यातायात पूर्वाधार हो। जिल्लाका धेरै क्षेत्रमा अझै सडक यातायात सहज छैन। उच्च हिमाली क्षेत्रमा सडक निर्माण आफैँमा जटिल र महँगो छ।

तर सडक निर्माण गर्दा वातावरणीय पक्षलाई बेवास्ता गर्ने हो भने प्राकृतिक विपद्को जोखिम बढ्न सक्छ। त्यसैले वातावरणीय प्रभाव मूल्याङ्कन, भूगर्भीय अध्ययन र स्थानीय भौगोलिक अवस्थाको अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्छ।

सडकसँगै पदमार्गलाई पनि पर्यटन पूर्वाधारका रूपमा विकास गर्न आवश्यक छ। डोल्पाको पर्यटन सडकमा मात्र आधारित हुन सक्दैन। यहाँको वास्तविक आकर्षण उच्च हिमाली पदयात्रा र मौलिक बस्ती भएकाले पुराना पदमार्ग संरक्षण तथा नयाँ पदमार्गको पहिचान आवश्यक छ।

हवाई यातायात डोल्पाका लागि अर्को महत्वपूर्ण माध्यम हो। जुफाल विमानस्थललाई व्यवस्थित र सुरक्षित बनाउँदै पर्यटकीय मौसममा नियमित हवाई सेवा सञ्चालन गर्न सके पर्यटक आगमन बढाउन सकिन्छ। स्थानीय स्तरका अन्य सम्भावित विमानस्थल तथा हेलिप्याडलाई पनि आपत्कालीन उद्धार र पर्यटनसँग जोड्न सकिन्छ।

मध्य डोल्पामा धार्मिक पर्यटन

मध्य डोल्पामा रहेको बाला त्रिपुरासुन्दरीको शक्तिपीठ सबैभन्दा महत्वपूर्ण मानिन्छ। भेरी करिडोरसँग जोडिएको उक्त मन्दिर शक्ति केन्द्रमा हुनेहरूको दर्शन गर्ने मुख्य ठाउँ रहँदै आएको छ। त्यसैगरी अर्को महत्वपूर्ण धार्मिक शक्तिपीठ मध्यमा छलगाड मस्टोलाई लिइन्छ।

छलगाड लगायतका धार्मिक संस्थाले पर्यटनको विकास मात्र नभई स्थानीयवासीको न्याय सम्पादनसमेत गर्दै आएका छन्। सरकारी कामकाजदेखि न्याय माग्नसमेत यिनै शक्तिपीठमा मानिसहरू जाने गर्दछन्। भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा निर्माण भएमा यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको गरिमा अझ बढ्ने देखिन्छ।

हेमन्त केसी/नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *