तनहुँको घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

डिसी नेपाल
१५ असोज २०८३ ६:२३

दमौली (तनहुँ)। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक बेलिब्रिजमा क्षति पुर्याएको छ। बाढीले भिमाद–रामपुर सडकखण्डसमेत प्रभावित बनाएको छ।

बाढीपहिरोले गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गर्‍यो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की र घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरे।

पुल तथा सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ। विशेषगरी झोलुङ्गे पुलमा क्षति पुग्दा गाउँका विभिन्न बस्तीबीचको सम्पर्क टुटेको छ भने बेलिब्रिज तथा सडक प्रभावित हुँदा यातायात सञ्चालन अवरुद्ध भएको छ। अनुगमन टोलीले तत्काल गर्नुपर्ने व्यवस्थापन र पुनःनिर्माणका लागि आवश्यक समन्वय गर्ने जानकारी दियो।

यसैबीच, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका–डेढगाउँ जोड्ने बाढी क्षतिग्रस्त पुलको प्राविधिक टोलीले नापजाँच र सर्भे गरेको छ। कालीगण्डकीमा आएको भीषण बाढीले पुलको पहुँचमार्ग बगाएपछि उक्त सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

घिरिङ गाउँपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय दमौलीको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण तथा नापजाँच गर्‍यो। सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्राविधिक टोलीले पुलको अवस्थाबारे आवश्यक विवरण संकलन गर्‍यो।

सर्भे सम्पन्न भएसँगै अब तत्काल वैकल्पिक व्यवस्था गरिने र पुल पुनःनिर्माणको काम अघि बढ्ने घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *