नेपाली कांग्रेसको देउवा पक्षद्वारा समानान्तर महाधिवेशन सुरु, आज वडा अधिवेशन हुँदै

डिसी नेपाल
१५ असोज २०८३ ६:४२

काठमाडौं।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय समूहले १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा नेतृत्वको इतर समूहले समानान्तर रूपमा अधिवेशन प्रक्रिया अगाडि बढाएको हो।

देउवा समूहले आगामी मङ्सिर २१ देखि २३ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ। सोही तालिका अनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यसूची निर्वाचन आयोगलाई बुझाइसकिएको छ।

उक्त समूहका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइएको छ भने ५६ जिल्लामा निर्वाचन संयोजक परिचालन गरिएको छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन गर्न नहुने अडान देउवा पक्षको थियो। तर, संस्थापन पक्ष असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रियामा होमिइसकेपछि इतर समूहले पनि आफ्नै कार्यतालिका सार्वजनिक गरी तयारी तीव्र पारेको हो।

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै देउवा पक्षले संस्थापन पक्षको महाधिवेशन बहिष्कार गर्दै आएको छ।

यसैबीच, देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्। उनले सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोबल र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *