मिथिलाञ्चल र थारु समुदायमा जितिया पर्व सुरु

डिसी नेपाल
१६ असोज २०८३ ११:०९

जनकपुर। मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा मैथिल तथा थारु समुदायको महान् लोकपर्व जितिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। मिथिलानीहरूले मनाउने विभिन्न व्रतहरूमध्ये जितियालाई सबैभन्दा कठोर र निष्ठाको व्रत मानिन्छ।

तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालु महिलाहरूले बिहानै ओँगठन (दही, चिउरा, सक्खर र केरासहितको प्रसाद) ग्रहण गरी आगामी ३६ घण्टाभन्दा बढी समयका लागि निराहार र निर्जल उपवास सुरु गरेका छन्। व्रत अवधिभर डकार्नु, खकार्नु वा जिब्रो टोक्नुलाई समेत व्रत भङ्ग हुने मान्यता रहेकाले यसलाई अत्यन्तै कडा नियम र निष्ठाका साथ पालना गर्ने गरिन्छ।

विशेष गरी सन्तानको दीर्घायु, आरोग्यता, पुत्र प्राप्ति तथा पारिवारिक सुख-शान्तिको कामना गर्दै मनाइने जितियाको ठूलो धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। मिथिला क्षेत्रमा सन्तान हुने प्रायः प्रत्येक महिलाले यो व्रत बस्ने गर्दछन्।

पर्वको नियम अनुसार बेलुका सूर्य अस्ताउनुअघि नजिकैको नदी, तलाउ वा पोखरीमा पुगेर पूजाआजा गरी स्नान गर्ने परम्परा छ। साँझपख जितमहान (जितवाहन) को कथा सुन्नका लागि केरा, चिउरा, दही र चिनीलगायतका पूजा सामग्रीसहित गाउँका व्रतालुहरू एकै ठाउँमा भेला हुने गर्दछन्।

व्रतको दोस्रो दिन बिहानै घरका दाजुभाइको सङ्ख्याका आधारमा बेलको पात गाँसेर प्रतीकात्मक धनुष बनाउने, जाकुर (मासको परिकार) तथा पूजाका सामग्रीसहित पुनः नदी वा पोखरीमा गएर स्नान गरी पूजा अर्चना गर्ने गरिन्छ। त्यसपछि घर फर्किएर भान्सालाई गाईको गोबरले लिपेर शुद्ध बनाई दही, चिउरा, केरा र दूध जस्ता परिकारहरू पहिले व्रतालुले ग्रहण गर्छन्। व्रतालुले पारण गरेपछि मात्र परिवारका अन्य सदस्यहरूले भोजन गर्ने चलन छ।

जितिया पर्वले धार्मिक आस्था मात्र नभई पारिवारिक मेलमिलाप र सामाजिक सद्भावलाई समेत मजबुत बनाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *