जंगलको निर्भरताबाट इन्जिनियरिङ र नेतृत्वसम्म: कैलालीका राजी समुदायको बदलिँदो दैनिकी
कैलाली। “पहिले जङ्गलमा गएर काम गर्नुपर्थ्यो अनि मात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसले खान-लाउन र जीविकोपार्जन गर्न सहज भएको छ,” कैलालीकी ७० वर्षीया झिना राजीले आफ्नो विगत सम्झँदै भनिन्।
जीवनको लामो समय जङ्गलसँग जोडिएर बिताएकी झिना अहिले आफ्नो समुदायमा आएको रूपान्तरण आफ्नै आँखाले देखिरहेकी छन्। कुनै समय परिवारको गुजारा चलाउन अनिवार्य रूपमा जंगल पस्नुपर्ने बाध्यता थियो। अहिले भने राज्यका तर्फबाट सामाजिक सुरक्षा भत्ता, आवास, शिक्षा र स्वास्थ्यलगायतका सेवासुविधा पाउन थालेपछि जीवनयापन निकै सहज भएको उनी बताउँछिन्।
झिना राजीको पुस्ताले जङ्गलीसँग जोडिएको कडा जीवन बाँच्यो भने नयाँ पुस्ता त्यही समुदायबाट विद्यालय, प्राविधिक शिक्षा, रोजगारी र सामाजिक नेतृत्वको बाटोमा द्रुत गतिमा अघि बढिरहेको छ। एक पुस्ताले जंगलबाट प्राप्त स्रोतमा निर्भर भएर परिवारको जीवन धानेको थियो भने अर्को पुस्ताले उच्च शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने स्थिति बनेको छ।
कैलालीको भजनी, टीकापुर, गौरीगंगा र घोडाघोडीलगायतका क्षेत्रमा राजी समुदायको बाक्लो बसोबास छ। समुदायमा देखिएको यो परिवर्तन केवल जीविकोपार्जनको शैलीमा आएको फेरबदलमा मात्र सीमित छैन। शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, महिला सहभागिता, स्थानीय तहमा प्रतिनिधित्व र आफ्ना अधिकारबारेको चेतनासमेत व्यापक रूपमा विस्तार हुँदै गएको छ।
संवैधानिक व्यवस्था र सरकारी प्रयास
नेपाल सरकारले आदिवासी जनजातिअन्तर्गत १० जातिलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ, जसमध्ये राजी जाति पनि एक हो। नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशितालाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै सामाजिक तथा सांस्कृतिक रूपमा पछाडि परेका, अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायको संरक्षण, सशक्कीकरण र विकासका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख गरेको छ।
संविधानको धारा ४२ मा लोपोन्मुख जातिका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्यान्नमा विशेष अवसर तथा संरक्षणको हक सुनिश्चित गरिएको छ। त्यस्तै, धारा ५१ ले लोपोन्मुख समुदायको पहिचान, भाषा, लिपि, संस्कृति र इतिहासको संरक्षण तथा विकासका लागि विशेष अवसर र व्यवस्था गर्ने राज्यको नीति अघि सारेको छ। धारा २६१ ले आदिवासी जनजातिको हकहितको संरक्षण, संवर्द्धन र सशक्कीकरणका लागि आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ।
यी संवैधानिक व्यवस्थासँगै सरकारले राजी समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा, छात्रवृत्ति, शिक्षा, आवासलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्थानीय तहहरूले पनि समुदायको अवस्थाअनुसार विशेष कार्यक्रम अघि बढाएका छन्।
भजनी नगरपालिकाले राजी जातिका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको नगरप्रमुख केवल चौधरी बताउँछन्। उनका अनुसार नगरपालिकाले निःशुल्क शिक्षासँगै राजी समुदायलाई लक्षित गरी अन्य विभिन्न कल्याणकारी कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ।
जङ्गलको जीवनबाट प्राविधिक शिक्षातर्फको यात्रा
राजी समुदायको परम्परागत जीविका जङ्गल, खेतीपाती र माछा मार्ने कामसँग गहिरोसँग जोडिएको थियो। जङ्गलबाट मह, जडीबुटी, कन्दमूल, कुरिलो र माछालगायतका वस्तु सङ्कलन गर्ने, घरमा प्रयोग गर्ने र बाँकी बिक्री गरेर घरखर्च चलाउने गरिन्थ्यो। वनजन्य वस्तु सङ्कलन गर्न कतिपय अवस्थामा दिनभरका साथै रातभरसमेत जङ्गलमै बस्नुपर्ने बाध्यता थियो।
भजनी नगरपालिका–९ भुरुवाका ३५ वर्षीय हर्षबहादुर राजीका लागि त्यो समय अझै सम्झनामा ताजा छ। उनका अनुसार पहिले परिवारका सबै सदस्य कुनै न कुनै रूपमा जङ्गलीसँगै जोडिएका हुन्थे। “पहिले हाम्रो मुख्य जीविकोपार्जन खेतीपाती र जङ्गलमै निर्भर थियो। म सानै थिएँ, बुवासँगै जङ्गल जाने गर्थेँ। जङ्गलबाट मह, जडीबुटी तथा अन्य वनजन्य वस्तु ल्याएर खाने र बाँकी ठेकेदारलाई बिक्री गरेर घरखर्च चलाउने गर्थ्यौँ,” उनले भने।
आम्दानी सीमित भएकाले परिवारको दैनिक आवश्यकता पूरा गर्नसमेत निकै कठिन हुने गरेको उनी बताउँछन्। त्यतिबेला शिक्षा धेरै परिवारको प्राथमिकतामा पर्न सकेको थिएन। आर्थिक अभावका कारण बालबालिकाले विद्यालय जानुभन्दा घरको काममा सहयोग गर्नुपर्ने अवस्था थियो।
हर्षबहादुरले पनि पढाइलाई निरन्तरता दिन सकेनन्। बुवाको निधन भएपछि र जेठो दाइ छुट्टिएर गएपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो। आफूले पढ्न नपाएको पीडादायी अवस्थालाई भने उनले भाइहरूको जीवनमा दोहोरिन दिएनन्। भाइहरूलाई पढाउनुपर्छ भन्ने दरो सोचका साथ उनले आफ्नो तर्फबाट हरसम्भव सहयोग गरे।
हर्षबहादुरका एक भाइ ३१ वर्षीय अरमान अहिले घोडाघोडी नगरपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत छन्। अरमानको बाल्यकाल भने सुरुमै पढाइप्रति विशेष रुचि भएको अवस्थाबाट सुरु भएको थिएन।
विद्यालय जाने उमेरमा उनलाई पढ्नुभन्दा गाईबाख्रा चराउन बढी रुचि लाग्थ्यो। “स्कुल पढ्दा हप्तामा एक दिन मात्र विद्यालय जाने गर्थेँ। विद्यालय जानुपर्छ भन्ने सोच नै थिएन, गाईबाख्रा चराउन नै राम्रो लाग्थ्यो,” उनले भने।
पढाइप्रतिको त्यही सुरुआती उदासीनताका कारण उनको शैक्षिक यात्रा पनि सहज भएन। एसएलसीमा एकपटक असफल हुनुपर्यो। तर असफलतापछि पनि उनले हिम्मत हारेनन् र पढाइ छाडेनन्। परिवारको साथ र आफ्नै प्रयासले माध्यमिक तहको शिक्षा पूरा गरे।
माध्यमिक शिक्षा पूरा गरेपछि उनको ध्यान प्राविधिक शिक्षातर्फ मोडियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रवेश परीक्षा उत्तीर्ण गरेपछि उनले छात्रवृत्तिको अवसर पाए।
त्यसपछि चितवन पुगेर डिप्लोमा तहको सब–इन्जिनियरिङ अध्ययन गरे। “प्राविधिक शिक्षा के हो, डिप्लोमा तहको पढाइ कसरी गर्ने भन्ने सुरुमा मलाई पनि धेरै जानकारी थिएन। पछि भर्ना भएपछि बाटो खुल्दै गयो,” उनले सम्झे।
प्राविधिक शिक्षा पूरा गरेपछि अरमानले लोकसेवा आयोगको परीक्षा दिए। परीक्षा उत्तीर्ण गरेपछि २०७६ सालदेखि उनी घोडाघोडी नगरपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत छन्। जङ्गलमा परिवारको गुजारा चलाउने पुस्ताकै परिवारबाट शिक्षा हासिल गरी सरकारी सेवामा प्रवेश गरेको उनको यो यात्रा राजी समुदायमा आएको पुस्तान्तरणको एउटा बलियो उदाहरण बनेको छ।
दाइ हर्षबहादुरको बाल्यकाल जङ्गलमा बित्यो र उनले पढाइलाई निरन्तरता दिन सकेनन्। तर भाइ अरमानले भने तमाम कठिनाइका बाबजुद पढाइलाई अघि बढाउँदै प्राविधिक शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गरे। हर्षबहादुरका अर्का भाइले पनि इलेक्ट्रिकल इन्जिनियरिङ पूरा गरी हाल लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका छन्।
आफ्नो सफलतालाई अरमान व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेर्दैनन्। उनका अनुसार पछिल्लो समय राजी समुदायका बालबालिका तथा युवाहरूमा शिक्षाप्रतिको रुचि तीव्र रूपमा बढ्दै गएको छ। विद्यालय, छात्रवृत्ति र प्राविधिक शिक्षाका अवसरबारे जानकारी बढ्दै जाँदा नयाँ पुस्ताले आफ्नो उज्ज्वल भविष्यका लागि विभिन्न बाटाहरू रोज्न थालेको उनको अनुभव छ। “पहिलेभन्दा अहिले धेरै परिवर्तन आएको छ। नयाँ पुस्ताले धेरै कुरा सिक्ने र अगाडि बढ्ने अवसर पाएको छ। अब त्यसलाई उपयोग गरेर अझ अघि बढ्नुपर्छ,” उनले भने।
यसरी हर्षबहादुर र अरमानको एउटै परिवारको कथाले राजी समुदायमा आएको ठूलो पुस्तागत परिवर्तनलाई स्पष्ट पार्छ। जङ्गलमा निर्भर भएर परिवारको जीवन धान्नुपर्ने पुस्ताबाट शिक्षा र सीप हासिल गरी सम्मानित रोजगारीको बाटो रोज्ने पुस्तासम्म आइपुग्दा समुदायको जीवनशैलीसँगै भविष्यप्रतिको सोचसमेत सकारात्मक रूपमा परिवर्तन हुँदै गएको छ।
सामाजिक सुरक्षा र शिक्षाले बदलिँदै परिवारको सोच
शिक्षातर्फको परिवर्तनसँगै सामाजिक सुरक्षा र आवासका कार्यक्रमहरूले विपन्न राजी परिवारको दैनिकीमा ठूलो सहजता थपेका छन्। सरकारले राजी समुदायका लागि प्रतिव्यक्ति मासिक रु चार हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। हर्षबहादुरका अनुसार परिवारको सीमित आम्दानीका बीच यो सामाजिक सुरक्षा भत्ता भाइहरूको पढाइ अघि बढाउने महत्त्वपूर्ण आधार बनेको थियो।
सुरुमा यही भत्ताको सहाराले दुई भाइको पढाइ अघि बढाउन ठूलो सहयोग पुगेको उनी बताउँछन्। एक भाइले प्राविधिक शिक्षा हासिल गरी इन्जिनियर बनेपछि परिवारलाई अर्को भाइको पढाइका लागि खर्च व्यवस्थापन गर्न थप सहज भयो। “सामाजिक सुरक्षा भत्ता नभएको भए भाइहरूलाई पढाउन निकै गाह्रो हुन्थ्यो। सुरुमा त्यही भत्ताले दुई भाइलाई पढाउन सहयोग गर्यो। एक भाइ इन्जिनियर भएपछि अर्को भाइलाई पढाउन पनि सहज भयो,” उनले भने।
सरकारले सामाजिक सुरक्षा भत्तासँगै राजी समुदायका लागि एकीकृत नमूना बस्तीसमेत निर्माण गरिदिएको छ। मैतु राजीको परिवारका छ जना सदस्यले सामाजिक सुरक्षा भत्तासँगै सुरक्षित आवासको सुविधा पाएका छन्। सरकारले घर निर्माणमा सहयोग गरेपछि वर्षौँदेखिको आवासको समस्या समाधान भएको उनी बताउँछन्।
“पहिले हामीलाई धेरै समस्या थियो। सरकारले सामाजिक सुरक्षा भत्ता दिनुका साथै घर पनि बनाइदिएको छ। यसले धेरै सहज भएको छ,” उनले भने। सामाजिक सुरक्षा भत्ताले बालबालिकाको नियमित पढाइमा समेत टेवा पुर्याएको उनको भनाइ छ।
आर्थिक अभावका कारण पहिले शिक्षा प्राथमिकतामा पर्न नसके पनि अहिले राज्यबाट प्राप्त सहयोग र परिवारको सोचमा आएको परिवर्तनसँगै बालबालिकालाई विद्यालय पठाउने क्रम ह्वात्तै बढेको छ। यसले राजी परिवारमा शिक्षा केवल तत्कालीन आवश्यकता नभई उज्ज्वल भविष्य निर्माणको मूल आधार हो भन्ने गहिरो बुझाइ विकास हुँदै गएको देखाउँछ।
तुलसी राजीका अनुसार विगतमा चरम गरिबीका कारण बालबालिकालाई विद्यालय पठाउन अत्यन्त कठिन थियो। परिवारको दैनिक गुजारा चलाउनकै लागि बालबालिकाले सानै उमेरमा काममा जोतिनुपर्ने अवस्था थियो भने छोरीहरूको सानै उमेरमा विवाह गरिदिने चलन थियो।
अहिले भने राज्यबाट प्राप्त सुविधा र शिक्षाको महत्त्वबारे बढेको चेतनाले परिवारको प्राथमिकता नै परिमार्जित भएको छ। “पहिलेभन्दा अहिले धेरै सुविधा आएको छ। अहिले हामीले पनि आफ्ना हकअधिकार पाउनुपर्छ भन्ने कुरा बुझ्न थालेका छौँ,” उनले भनिन्।
पुरानो पुस्ताको भोगाइ र अनुभवले पनि शिक्षाप्रतिको बदलिँदो सोचलाई उजागर गर्छ। पार्वती राजीले पारिवारिक परिस्थितिका कारण विद्यालयको शिक्षा निरन्तरता दिन सकिनन्। आमाको नाजुक स्वास्थ्य अवस्था र पारिवारिक कठिनाइका कारण १५ वर्षकै उमेरमा उनको विवाह भयो।
कक्षा ५ सम्म मात्र पढ्न पाएकी उनी अहिले आफ्ना सन्तानको शिक्षाप्रति भने निकै सचेत छिन्। “मैले पढ्न पाइनँ, तर मेरा बच्चाले पढ्नुपर्छ भन्ने लाग्छ,” उनले भनिन्।
मैतु राजीको अनुभव पनि उस्तै छ। आफूले विद्यालय जाने अवसर नपाए पनि अहिले उनका छोराछोरी नियमित विद्यालय जान्छन्। आफूले भोगेको अभाव र शिक्षाबाट वञ्चित हुनुपरेको पीडाले नै सन्तानको शिक्षाप्रति उनलाई थप सचेत र गम्भीर बनाएको हो।
राजी समुदायमा शिक्षा र जीवनस्तरप्रतिको सोचमा व्यापक पुस्तान्तरण हुँदै गएको देखिन्छ। पहिले परिवारको दैनिक गुजारा चलाउनु नै मुख्य प्राथमिकता हुन्थ्यो भने अहिले छोराछोरीलाई विद्यालय पठाउनु, उनीहरूको शिक्षा पूरा गराउनु र सीप तथा रोजगारीका अवसर खोज्नु भविष्य निर्माणको मुख्य आधारका रूपमा लिन थालिएको छ। सामाजिक सुरक्षा, आवास तथा शिक्षामा राज्यको सहयोगसँगै परिवारको सोचमा आएको यो परिवर्तनले राजी समुदायलाई परम्परागत जीवनशैलीबाट नयाँ अवसरतर्फ अघि बढाइरहेको छ।
महिला सहभागितादेखि सामाजिक नेतृत्वसम्म
राजी समुदायमा आएको परिवर्तन शिक्षा र रोजगारीमा मात्र सीमित छैन। महिलाहरू पनि विस्तारै सामाजिक सेवा, आयआर्जन र समुदायका विभिन्न गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्।
तुलसी राजी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा आफ्नै समुदायमा खटिएर काम गर्दै आएकी छन्। स्वास्थ्यसम्बन्धी सेवा र सचेतनाका कामसँगै समुदायमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा अधिकारका विषयमा चेतना तीव्र रूपमा बढ्दै गएको उनले अनुभव गरेकी छन्।
महिलाहरू सामाजिक गतिविधिमा सहभागी हुनुका साथै आफ्नै आम्दानीको बाटो खोज्न थालेका छन्। भजनीकी पार्वती राजीका श्रीमान् मिल चलाउने काम गर्छन् भने पार्वती आफैँ अटो रिक्सा चलाएर आत्मनिर्भर बन्ने बाटोमा अघि बढेकी छन्। यसले राजी महिलाहरूमा आर्थिक रूपमा आत्मनिर्भर बन्ने चाहना प्रबल हुँदै गएको देखाउँछ।
यसैगरी, समुदायको सामाजिक नेतृत्वमा पनि राजीहरूको सहभागिता निरन्तर बढ्दै गएको छ। हर्षबहादुर अहिले भजनी नगरपालिका-९ स्थित सोनपाल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षका रूपमा कार्यरत छन् भने नेकपा (एमाले) को वडा कमिटीमा समेत आबद्ध छन्।
स्थानीय तहको कार्यपालिका तहसम्म राजी समुदायको प्रतिनिधित्व हुँदै आएको छ। यसले समुदायका सदस्यहरूलाई स्थानीय सरकारका योजना तथा निर्णय प्रक्रियामा आफ्ना वास्तविक आवश्यकता र मागहरू राख्ने अवसर दिएको छ।
हर्षबहादुरका अनुसार केही वर्षअघिसम्म आफ्ना समस्या राख्नसमेत हिचकिचाउने समुदाय अहिले अधिकारका विषयमा खुलस्त बोल्न थालेको छ। “पहिले आफ्नो समस्या राख्न पनि डराउने अवस्था थियो। अहिले हामी आफैँ नेतृत्वमा बसेर समुदायका समस्या र अधिकारका विषयमा बोल्न थालेका छौँ,” उनले भने।
आज राजी समुदायमा आएको परिवर्तनको अर्थ जङ्गलमा निर्भर जीवनबाट बाहिर आउनुमा मात्र सीमित छैन। आफ्ना सन्तानलाई विद्यालय पठाउन सक्ने क्षमता, रोजगारीको बाटो रोज्ने आत्मबल, राज्यबाट प्राप्त अधिकारबारे जानकारी राख्ने चेतना र स्थानीय तहमा आफ्नै प्रतिनिधि देख्न पाउने अवस्था नै यो परिवर्तनका जीवन्त सङ्केत बनेका छन्।
एक पुस्ताले जङ्गलको भरमा परिवारको जीवन धान्यो, भने अर्को पुस्ताले उच्च शिक्षा लिएर सरकारी सेवा र प्राविधिक क्षेत्रको बाटो समात्यो। राजी समुदायमा आएको यो परिवर्तन पुस्तौँदेखि भोगिएको अभाव, पछिल्ला वर्षहरूमा विस्तार भएको राज्यको पहुँच र नयाँ पुस्ताको बदलिँदो सोचले निर्माण गरेको एउटा ऐतिहासिक र क्रमिक यात्रा हो।
जंगलसँग जोडिएको कठिन जीवनबाट शिक्षाको उज्यालोसम्म आइपुगेको राजी समुदाय अब प्राप्त अवसरहरूलाई रोजगारी, आत्मनिर्भरता, नेतृत्व र आफ्नो मौलिक पहिचानको संरक्षणसँग जोड्दै अघि बढ्ने नयाँ चरणमा पुगेको छ।
No ads found for this position




Facebook Comment