सांसद ज्ञानेन्द्र शाहीको प्रश्न–‘ठूला भ्रष्टाचार काण्डको छानबिन कहिले हुन्छ?’ (भिडियोसहित)

डिसी नेपाल
१६ असोज २०८३ १५:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशमा भएका ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले सत्तापक्षका नेताहरूलाई भाषणमा मात्र सीमित नभई आफ्नो हातमा रहेको सत्ताको प्रयोग गरेर भ्रष्टाचारका ठूला काण्डको छानबिन र कारबाही अघि बढाउन चुनौती दिए।

उनले चीनबाट ल्याइएका जहाजको विषयसमेत सदनमा उठाए। तत्कालीन सरकारले चीनबाट ६ अर्ब ६७ करोड रुपैयाँको सम्झौता गरी ६ वटा जहाज ल्याएको तर तीमध्ये ५ वटा जहाज उड्न नसकेर अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको दाबी गर्दै शाहीले उक्त सम्झौता र निर्णय प्रक्रियामा संलग्नमाथि छानबिन हुनुपर्ने बताए।

त्यस्तै, उनले वाइडबडी, एनसेल, ४जी सेवा विस्तार, ३३ किलो सुन, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी, क्यान्टोनमेन्ट तथा सहकारी ठगीलगायतका विषयमा पनि छानबिनको माग गरे।

शाहीले देशमा ६५ वटाभन्दा बढी ठूला भ्रष्टाचारका काण्डहरू रहेको उल्लेख गर्दै ती सबैको निष्पक्ष छानबिन कहिले हुन्छ भन्दै सरकारसँग प्रश्न गरे। उनले सहकारी क्षेत्रमा भएका भनिएका अनियमितता र ठगीका घटनाको समेत प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

उनको भनाइमा, भ्रष्टाचारका विषयमा राजनीतिक भाषण र आरोप–प्रत्यारोपभन्दा पनि राज्यका निकायले प्रमाणका आधारमा अनुसन्धान अघि बढाएर दोषीमाथि कारबाही गर्न आवश्यक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *