नेपाली कांग्रेसको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास, सभापतिमा गगन थापा निर्विकल्प!
काठमाडौं। नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने आन्तरिक गृहकार्य तथा प्रयास थालेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले पत्रकारहरूसँगको कुराकानीमा नेतृत्व चयनमा सहमति र पूर्ण एकताको वातावरण बनाउन पार्टी नेतृत्व क्रियाशील रहेको जानकारी दिएका हुन्।
प्रवक्ता चालिसेका अनुसार पार्टीभित्र हालसम्म वर्तमान सभापति गगन थापाको नेतृत्वलाई लिएर कुनै पनि पक्षबाट कुनै चुनौती वा विरोध आएको छैन।
“अहिलेसम्म वर्तमान सभापति गगन थापालाई कसैले चुनौती दिएको अवस्था छैन,” उनले स्पष्ट पार्दै भने। नेतृत्व चयनमा देखिएको यो अनुकूल वातावरणले गर्दा सर्वसम्मतिको सम्भावना अझ बलियो बन्दै गएको उनको भनाइ थियो।
प्रवक्ता चालिसेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सकेसम्म उच्च समझदारी र सहमतिमै नेतृत्वको टुङ्गो लगाउने कांग्रेसको मूल नीति रहेको बताए।
उनले अगाडि भने, “हामी सकभर सर्वसम्मत नेतृत्व चयन गर्न लाग्छौँ। यदि त्यो सम्भव भएन भने निर्वाचनको लोकतान्त्रिक प्रक्रिया त छँदै छ, त्यही बाटोबाट पारदर्शी रूपमा नेतृत्व चयन हुन्छ।”
सहमति र एकताको सन्देश दिँदै आगामी महाधिवेशन सम्पन्न गराउन पार्टीका वरिष्ठ नेताहरू तथा शीर्ष तहमा छलफल निरन्तर जारी रहेको कांग्रेसले जनाएको छ।
यसैबीच नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ।
महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए।
`१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।´ प्रवक्ता चालिसेले भने।
कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment