‘प्रतिपक्षको काम सरकारको विरोध मात्रै होइन, सही बाटोमा हिँड्न खबरदारी गर्नु हो’ : ज्ञानेन्द्र शाही(भिडियोसहित)

डिसी नेपाल
१६ असोज २०८३ १५:३५

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षको भूमिका सरकारको विरोध गर्नु मात्र नभई सरकारलाई सही बाटोमा अघि बढ्न खबरदारी गर्नु रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सत्तापक्षका सांसदहरूले सरकारका गलत कामबारे संसदमा प्रश्न नउठाएको टिप्पणी गरे। उनले सडकमा ‘केपी बा, आई लभ यू’ भन्दै नारा लगाउनेहरू संसदमा भने सरकारका कमजोरीबारे प्रश्न गर्न नसकेको बताए।

शाहीले ओली नेतृत्वको सरकारका पालामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलगायतका विषयमा समेत सत्तापक्षका सांसदहरूले संसदमा प्रश्न नगरेको आरोप लगाए।

‘केपी बा, तपाईंले यो गलत गर्दै हुनुहुन्छ, तपाईंले यहाँ सामाजिक सञ्जाल बन्द गर्दै हुनुहुन्छ भनेर त्यो कसैले भनेन। आज तपाईंका सांसद पनि भन्दैनन्,’ उनले भने।

आफूहरूले सरकारको आलोचना विरोधका लागि मात्र नगरेको स्पष्ट पार्दै शाहीले प्रतिपक्षको जिम्मेवारी सरकारलाई सही दिशा देखाउँदै आवश्यक विषयमा खबरदारी गर्नु भएको बताए।

‘तर हामी प्रतिपक्षले भन्छौँ। त्यो भनेको तपाईंहरूको विरोध गरेको होइन। तपाईंहरूलाई सही मार्ग, सही बाटो लगाएर अगाडि बढ्नुस् भनेको हो। त्यसैले यसलाई विरोध नठान्नुहोला,’ उनले भने।

शाहीले वर्तमान सरकारको पछिल्लो छ महिनाको कार्यसम्पादनबारे पनि टिप्पणी गरे। छ महिनामै देशको कायापलट गर्नुपर्ने अपेक्षा राख्न नहुने भए पनि सरकारले जनअपेक्षाअनुसार पर्याप्त काम गर्न नसकेको उनको भनाइ थियो।

‘छ महिनामा देशकै कायापलट गर्नुपर्छ भन्ने छैन। जति गर्‍यो, गरिराख्या छ, तर जति चाहियो त्यति भएन,’ उनले भने। उनले सरकारका कामकारबाहीको समीक्षा गर्दै आवश्यक ठाउँमा प्रश्न उठाउनु र खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *