धनुषाका १८६ परिवारले पाए लालपुर्जा

डिसी नेपाल
१६ असोज २०८३ १७:११

धनुषा। धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक बटेश्वर गाविस–१ देखि ९ सम्मको क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रमा २०७४ सालमै नापजाँचको काम सम्पन्न भएको थियो। नापजाँच तथा नक्सांकन पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १८६ परिवारले आफ्नो जग्गाको औपचारिक स्वामित्व प्रमाणित गर्ने कागजात पाएका हुन्।

लालपुर्जा प्राप्त भएपछि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ। जग्गा दर्ता भएर प्रमाणपुर्जा प्राप्त गरेसँगै स्थानीय बासिन्दालाई जग्गासम्बन्धी कानुनी तथा आर्थिक कारोबार गर्न सहज हुने भएको छ।

जग्गाको स्वामित्व स्पष्ट भएपछि बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन, बिक्री तथा अन्य कानुनी कारोबार गर्न सहज हुने बताइएको छ। यससँगै जग्गासम्बन्धी विवाद समाधान गर्नसमेत सहयोग पुग्नेछ।

यसअघि धनुषाका ४ हजार ५५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन्। पछिल्लो पटक १८६ परिवारलाई लालपुर्जा वितरणसँगै जिल्लामा लामो समयदेखि रोकिएका स्ववासी जग्गा दर्ता तथा प्रमाणपुर्जा वितरणको प्रक्रिया थप तीव्र बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *