कांग्रेस महाधिवेशनमा कुन-कुन दलका नेता सहभागी हुँदैछन्?

डिसी नेपाल
१६ असोज २०८३ १७:४७

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ। काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनको तयारी तीव्र पारिएको कांग्रेसले जनाएको छ।

शुक्रबार, कांग्रेस प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी बारे जानकारी दिएका छन्।

महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आउँदै गरेका प्रवक्ता चालिसेले बताए। पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए। देउवा भने आफ्नो समूहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडी बढेका छन।

त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका नेताहरू पनि सहभागी हुदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृत पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।

त्यस्तै विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन्।

असोज १८ गतेदेखि २२ गतेसम्म हुने महाधिवेशनमा सात हजार २८ प्रतिनिधिहरू सहभागी हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। महाधिवेशनमा १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचनका प्रक्रियाहरू हुने समितिले जानकारी दिएको छ। यस महाधिवेशनले काँग्रेसको नयाँ नेतृत्व पनि चयन गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *