‘बदलिएको कांग्रेसले देश बदल्ने’ गगन थापाको उद्घोष, शीर्ष नेताहरूद्वारा सहकार्य र रूपान्तरणमा जोड
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचार आदानप्रदानका लागि मुलुकमा खुलामञ्चजस्ता लोकतान्त्रिक थलोहरूको निरन्तर आवश्यकता रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज काठमाडौंस्थित खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले जनताका जिज्ञासा र प्रश्नमाथि खुला छलफल गर्न देशलाई खुलामञ्च चाहिएको स्पष्ट पारे।
“दश वर्षपछि खुलामञ्च खुलेको छ, यो काठमाडौँको एउटा चौर मात्रै होइन, नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन्,” सम्बोधनका क्रममा थापाले भने।
जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले यही खुलामञ्चबाट ऐतिहासिक राजनीतिक घटनाक्रमबारे सम्बोधन गरेको स्मरण गर्दै उनले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गराउने सामर्थ्य खुलामञ्चमा रहेको उल्लेख गरे। उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई अब पार्टीभित्रै संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए।
राजनीतिमा ‘म्युजिकल चियर’ र असन्तुष्टिको समीक्षा
फरक प्रसङ्गमा सभापति थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाएको टिप्पणी गरे। प्रधानमन्त्री बनेका व्यक्ति पुनः प्रधानमन्त्री बन्न खोज्ने, नेतृत्वमा पुगेकाहरू निरन्तर दोहोरिने र मन्त्री भइसकेकाहरू नै पटक-पटक सत्तामा जाने प्रवृत्तिका कारण जनतामा राजनीतिप्रति तीव्र वितृष्णा बढेको र सबै दल एवम् नेता एउटै हुन् भन्ने सन्देश गएको उनको भनाइ थियो। उनले गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई त्यसैको परिणामका रूपमा व्याख्या गरे।
विगतका कमजोरीको समीक्षा गर्दै अगाडि बढ्छौं
विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा होमिए पनि परिणाम आफ्नो पक्षमा आउन नसकेको स्वीकार गर्दै थापाले भने, “विशेष महाधिवेशनपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा परिणाम आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ, अब नयाँ महाधिवेशनमा होमिएका छौँ।”
उनले १५औँ महाधिवेशनलाई विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए। जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र कार्यशैलीमा व्यापक परिवर्तन ल्याउनुपर्ने धारणा उनले राखे।
मुलुकमा लामो राजनीतिक सङ्घर्ष र परिवर्तन भए पनि त्यसको प्रतिफल जनताको दैनिक जीवन, रोजगारी सिर्जना र युवा पलायन रोक्ने विषयमा देखिन नसकेको भन्दै उनले यसको कारण खोज्न सबै राजनीतिक दलहरू मिलेर मन्थन गर्नुपर्ने बताए।
“डेमोक्रेसी (लोकतन्त्र) र डेलिभरी (सेवा प्रवाह) बीचको पुलको काम कांग्रेसले गर्छ, पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ, यही सङ्कल्प गर्छ,” थापाले भने, “आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ। पुल ढल्यो भने विश्वास ढल्छ, त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ।”
थापाले तत्कालको चुनावी लाभका लागि सिद्धान्तसँग सम्झौता नगर्ने स्पष्ट पार्दै आर्थिक विकासका लागि निजी क्षेत्र र उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने बताए। साथै, पार्टीबाट बाहिरिएका नेताहरूका सम्बन्धमा पनि अब स्पष्ट दृष्टिकोण र उत्तर दिइने उनले उल्लेख गरे।
देशको पछिल्लो परिस्थितिप्रति संवेदना व्यक्त गर्दै थापाले भने, “रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन, तर संविधान र कानुनको परिधिका कारण गर्न बाध्य भयौं।” बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्छ भन्ने विश्वासका साथ नयाँ ऊर्जा र संकल्प लिएर महाधिवेशनबाट बाहिरिने उनले उद्घोष गरे।
हामी लोकतन्त्रका मूल्य-मान्यताबाट डगमगाउँदैनौं : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा आफ्नो पार्टी दृढ रहेको स्पष्ट पारे।
“तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ। यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ,” लामिछानेले भने।
सरकारको नियत सही रहेको र कुनै निर्णय खराब वा विवादित भए त्यसलाई सच्याउन सकिने भन्दै उनले लोकतन्त्रमाथि अहिले कुनै खतरा नरहेकाले ढुक्क हुन आग्रह गरे। विगतमा दुई ठूला दल विनाकुनै कारण एक ठाउँमा आउँदा सङ्कट पैदा भएको स्मरण गराउँदै उनले लोकतन्त्रको रक्षाको एक्लो ठेक्का कसैले लिन नहुने टिप्पणी गरे। उनले कांग्रेसको योगदानको चर्चा गर्दै महाधिवेशन सफलताको शुभकामना दिए।
गगनजीमा देशकै नेतृत्व गर्ने क्षमता छ: प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ कदम बढाएको भन्दै प्रशंसा गरे।
आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले भने, “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु।”
प्रचण्डले थापालाई कांग्रेसभित्रका छुटेका नेता तथा समूहलाई समेटेर पार्टीलाई थप एकताबद्ध बनाउन आग्रह गरे। साथै, तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएको विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू टुङ्ग्याउने जिम्मेवारी पनि थापाले पूरा गर्नुपर्ने उनले बताए। लोकतान्त्रिक गणतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि प्रमुख शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।
युवाका आशा र अपेक्षालाई निराशामा बदल्न दिनु हुँदैन: शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू फेरि एक ठाउँमा उभिनुपर्ने बताए।
“लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरू मिलेर काम गर्नुपर्छ। त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ,” पोखरेलले भने।
पछिल्लो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको मत प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उनले सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन नदिन सबै दल जिम्मेवार हुनुपर्ने बताए। उनले जलवायु न्यायको साझा प्रश्नमा पनि दलहरूबीच ऐक्यबद्धता हुनुपर्ने धारणा राखे।
नेता र राजनीतिप्रतिको वितृष्णा अझै कायमै छ: राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा नेता र राजनीतिप्रतिको वितृष्णा अझै कायम रहेको बताए। कांग्रेसको १४औँ महाधिवेशनमा आफूले उठाएका विषयहरू १५औँ महाधिवेशनसम्म आइपुग्दा पनि सुधार हुन नसकेको टिप्पणी उनले गरे।
“मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनका क्रममा जे बोलेको थिएँ, आमजनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन,” उनले भने। मान्छे परिवर्तन भए पनि देशको स्थिति उस्तै रहेकाले देश र जनताको हितका लागि आवश्यकताअनुसार संविधानसमेत संशोधन वा परिवर्तन गर्नुपर्ने धारणा उनले व्यक्त गरे।
विषम परिस्थितिमा दलहरूबीच एकता र सहकार्य आवश्यक: शरदसिंह भण्डारी
जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्राकृतिक विपद् र आर्थिक सङ्कटको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच एकता, संवाद र सहकार्य हुनुपर्नेमा जोड दिए। नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक परिवर्तन र २०७२ को संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको निर्णायक नेतृत्वको उनले प्रशंसा गरे। बढ्दो बेरोजगारी, युवा पलायन र नागरिकका निराशा सम्बोधन गर्न सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
समयअनुसार रूपान्तरण हुन सक्नु कांग्रेसको सबल पक्ष: डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश बुझेर समयअनुसार आफूलाई रूपान्तरण गर्न सकेकामा खुसी व्यक्त गरे।
“विश्वमा भएको चमत्कारिक विकासका बीच हाम्रा दलहरू हिजोको ढाँचामा रहिरहनु हुँदैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझ्न जरुरी छ,” डा. भट्टराईले भने, “पुराना पार्टी रूपान्तरण हुनुपर्छ, होइन भने सबैसँग मिलेर वैकल्पिक शक्ति बन्नुपर्छ भनेर १२ वर्षअघि मैले भनेको कुरा आज सिद्ध हुँदै गएको छ।”
उनले शान्ति प्रक्रियाका क्रममा एक विदेशी पत्रकारले सोधेको प्रश्न स्मरण गर्दै गगन थापालाई त्यतिबेलै ‘भोलिको नेता’का रूपमा चित्रण गरेको उल्लेख गरे। दलहरूबीच अबका २० वर्षको विकास योजना बनाउन प्रतिस्पर्धा हुनुपर्ने धारणा उनले राखे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment