कांग्रेस महाधिवेशनमा बालेनमाथि प्रहार, बालेनको व्यंग्यपछि सामाजिक सञ्जालमा वाक्युद्ध
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लिएर सुरु भएको वाक्युद्ध सामाजिक सञ्जालमा चर्किँदै गएको छ।
महाधिवेशनको मञ्चबाट आफूमाथि आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको व्यङ्ग्यात्मक टिप्पणी र त्यसको जवाफमा आन्दोलनकी अगुवा एवम् जेनजी अभियन्ता रक्षा बमको कडा आपत्तिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।
विवादको पृष्ठभूमि
काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने भन्दै उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।
आफूमाथि भएको उक्त आलोचनाको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्य गरेका थिए। उनले लेखेका थिए-
“धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।”
काठमाडौं महानगरको मेयर छँदा खुलामञ्च सुधारको कामलाई आफ्नो उपलब्धि मान्दै आएका बालेनको यो टिप्पणी सोझै कांग्रेस र त्यसका नेताहरूतर्फ लक्षित थियो।
प्रधानमन्त्रीको उक्त व्यङ्ग्यात्मक टिप्पणी सार्वजनिक भएलगत्तै युवा तथा जेनजी अभियन्ता रक्षा बमले कडा प्रतिक्रिया दिएकी छन्। आइतबार नै सामाजिक सञ्जालमा लेख्दै उनले व्यवस्था परिवर्तन र राजनीतिक अधिकारका लागि युवाहरूले गरेको बलिदानलाई स्मरण गराएकी छन्।
बमले लेखेकी छन्-“धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहित भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।”
उनको यो भनाइले आन्दोलनको जनादेश र जनभावनाविपरीत गैरजिम्मेवार टिप्पणी गर्ने नेतृत्वप्रति आम युवाहरूको आक्रोशलाई प्रतिनिधित्व गरेको विश्लेषण गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारको नेतृत्व सम्हालिरहेका बालेन शाहको पछिल्लो शैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।
सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यमहरूमा गरिएको तथ्यांक विश्लेषण (डाटा एनालिटिक्स) अनुसार, कुनै समय शतप्रतिशतको हाराहारीमा रहेको बालेन शाहको जनसमर्थन र सकारात्मक धारणा घटेकाे बताइएकाे छ। जनमतमा आएको यो गिरावटलाई राजनीतिक विश्लेषकहरूले सत्ता पक्षका लागि ‘शुभ संकेत’ नभएको टिप्पणी गरेका छन्।
रास्वपा तथा सरकारका समर्थकहरूले फागुनसम्म वा पाँचै वर्षको पूर्ण कार्यकाल कार्यकारी जिम्मेवारी सम्हाल्ने दाबी गरिरहे तापनि, घट्दो जनसमर्थन, संसद्प्रतिको उदासीनता र गैर-कूटनीतिक अभिव्यक्तिले सरकारको दीर्घजीवन र स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। जनमतको यो तीव्र गिरावटले आगामी राजनीतिक यात्रा बालेनका लागि सहज नहुने संकेत देखिएकाे छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment