ममता काफ्ले बेपत्ता प्रकरण: श्रीमान् नरेश भट्टविरुद्धको हत्या मुद्दामा सुनुवाइ

डिसी नेपाल
१९ असोज २०८३ ७:३५

भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यस्थित मानसस पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी समयपछि उनकै पति नरेश भट्टविरुद्ध परेको प्रथम श्रेणीको हत्या सम्बन्धी मुद्दामा अदालतले आज सोमबारदेखि औपचारिक सुनुवाइ सुरु गर्दै छ।

सन् २०२४ जुलाई ३० मा २८ वर्षीया ममता आफ्नै घरबाट संदिग्ध रूपमा सम्पर्कविहीन भएकी थिइन्। त्यसयता स्थानीय तथा सङ्घीय अनुसन्धान अधिकारीहरूले उनको शव फेला पार्न नसके पनि प्राप्त भौतिक प्रमाण, डिजिटल ट्रेस र घरको बाथरुम तथा शयनकक्षमा भेटिएका रगतका टाटाका आधारमा उनको हत्या भइसकेको निष्कर्ष निकालेका थिए।

प्रिन्स विलियम काउन्टी सर्किट कोर्टकी न्यायाधीश किम्बर्ली इरभिङको इजलासमा यो मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार जुरी चयन र साक्षी प्रमाणीकरणसहितको यो सुनुवाइ प्रक्रिया झन्डै सात हप्तासम्म चल्ने अनुमान गरिएको छ।

न्यायाधीश इरभिङले सञ्चारमाध्यमलाई अदालतभित्र क्यामेरा राखेर सुनुवाइ रेकर्ड गर्न र फोटो खिच्न अनुमति दिएकी छन्, तर मुद्दाको प्रत्यक्ष प्रसारण गर्न भने पाइने छैन।

सञ्चारमाध्यमले रेकर्ड गरिएको भिडिओ तथा फोटोहरू पछि समाचारमा प्रयोग गर्न सक्नेछन्। यद्यपि सुनुवाइको संवेदनशीलतातर्फ ध्यान दिँदै पछि क्यामेरा प्रयोगसम्बन्धी व्यवस्थामा पुनरावलोकन हुन सक्ने न्यायाधीशले स्पष्ट पारेकी छन्।

सन् २०२४ अगस्टको सुरुमा ममता कार्यरत अस्पताल र साथीहरूले उनी बेपत्ता भएको खबर गरेपछि मानसस पार्क प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा ममताका श्रीमान् नरेश भट्टको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले २०२४ अगस्ट २२ मा उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो।

शव बरामद नभए तापनि अभियोजन पक्षले नरेशविरुद्ध बलिया प्राविधिक तथा भौतिक प्रमाणहरू अदालतमा प्रस्तुत गर्ने तयारी गरेको छ।

घरको शयन कक्ष र बाथरुममा व्यापक रूपमा सफाइ गरिएको भए पनि लुमिनोल प्रविधि प्रयोग गर्दा भेटिएका रगतका टाटा र त्यसको डीएनए परीक्षण, ममता बेपत्ता हुनुअघि र पछि नरेशले गुगलमा गरेको शंकास्पद खोजीहरू, सामान खरिदका विवरण र फोनको लोकेसन डेटालाई मुख्य प्रमाणका रूपमा पेस गरिँदै छ।

नेपाल सेनाका पूर्वसदस्य तथा अमेरिकामा पूर्वसैनिक ठेकेदारका रूपमा कार्यरत नरेश भट्टले भने सुरुदेखि नै आफू निर्दोष रहेको र ममता आफ्नै खुसीले छाडेर गएको दाबी गर्दै आएका छन्। यस घटनाका समयमा उनीहरूको एक वर्षीया छोरी रहेकी थिइन्।

आमा बेपत्ता र बुबा हिरासतमा पुगेपछि भर्जिनियाको सामाजिक सेवा विभागको संरक्षणमा रहेकी ती बालिकालाई पछि नेपालबाट अमेरिका पुगेका ममताका दाजु र आमाको जिम्मा लगाइएको थियो। प्रमाणको आधारमा मात्र चलाइएको यो उच्च प्राथमिकताको मुद्दाको फैसलाले अमेरिकामा रहेका नेपाली समुदायका साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *