नेपालले अटारी-वाघाबाट के सिक्ने ?
भारत र पाकिस्तानबीचको अटारी- वाघा सीमा केवल दुई मुलुक छुट्याउने अन्तर्राष्ट्रिय सीमारेखा मात्र होइन, राष्ट्रभावना, सैनिक अनुशासन, राष्ट्रिय झण्डा र देशप्रतिको गौरव प्रदर्शन गर्ने एउटा प्रतीकात्मक थलो बनेको छ।
भारतको अमृतसहर नजिकैको अटारी र पाकिस्तानतर्फको वाघा सीमामा हुने ‘बिटिङ द रिट्रिट’ समारोहमा दुवै देशका सुरक्षाकर्मीले दैनिक रूपमा सैनिक परेड, झण्डा अवतरण र औपचारिक समारोह प्रस्तुत गर्छन्।
सन् १९५९ देखि सञ्चालनमा आएको यो समारोह सैनिक अभ्यास मात्र होइन। जनतासँग राष्ट्रको भावनात्मक सम्बन्ध जोड्ने सार्वजनिक कार्यक्रमसमेत बनेको छ। सीमामा दुवै देशका सुरक्षाकर्मीले उच्च अनुशासनका साथ मार्चपास, औपचारिक सलामी र राष्ट्रिय झण्डा अवतरण गर्छन्।
समारोह हेर्न ठूलो संख्यामा नागरिक तथा पर्यटक पुग्छन्। यसले सीमा सुरक्षाको जिम्मेवारी बोकेको राज्य संयन्त्र र आम नागरिकबीच भावनात्मक सम्बन्ध स्थापित गर्ने माध्यमको काम गरेको देखिन्छ।
अटारी वाघाको अर्को महत्वपूर्ण पक्ष यसको द्वैध सन्देश हो। एकातिर सैनिक प्रदर्शनले आफ्नो राष्ट्रको शक्ति, अनुशासन र स्वाभिमान देखाउँछ। अर्कोतिर समारोहको अन्त्यमा दुवै पक्षका सैनिकबीच हुने औपचारिक अभिवादन र झण्डा एकै समयमा अवतरण गरिनुले दुई देशबीचको सम्बन्ध र सम्मानको सन्देश पनि देखाउँछ।नेपालले पनि यसबाट सिक्न सकिन्छ।
नेपालका अन्तर्राष्ट्रिय सीमा भारत र चीनसँग जोडिएका छन्। तर सीमालाई नागरिकको राष्ट्रभावना, इतिहास, सुरक्षा चेतना र पर्यटनसँग जोड्ने गरी नियमित सार्वजनिक समारोहको अभ्यास अत्यन्त सीमित छ।
सीमाक्षेत्रमा राष्ट्रिय झण्डा फहराउने, सैनिक तथा सशस्त्र प्रहरीको औपचारिक परेड, राष्ट्रिय गान, स्थानीय संस्कृति र इतिहासको प्रस्तुति तथा सीमा सुरक्षामा योगदान पुर्याउने व्यक्तिको सम्मानजस्ता कार्यक्रम विकास गर्न सकिन्छ।
यसका लागि भारतसँग सिमाना जोडिएको काँकडभिट्टा, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी जस्ता प्रमुख नाकामध्ये उपयुक्त स्थान छनोट गरी ‘सीमा राष्ट्रिय गौरव समारोह’ सुरु गर्न सकिन्छ।
चीनसँगको सीमामा पनि सम्बन्धित भौगोलिक र सुरक्षा अवस्थाअनुसार यस्तै कार्यक्रम विकास गर्न सकिन्छ । तर यसको उद्देश्य छिमेकीविरुद्ध आक्रामक राष्ट्रवाद प्रदर्शन गर्नु नभई नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, सीमा सुरक्षा र देशप्रतिको नागरिक जिम्मेवारीलाई सकारात्मक रूपमा स्थापित गर्नु हुनुपर्छ।
यस्तो कार्यक्रम विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी, स्थानीय समुदाय, पर्यटक र सर्वसाधारणलाई सहभागी गराउने गरी सञ्चालन गर्न सके सीमा क्षेत्रमा नेपालको इतिहास, नक्सा, राष्ट्रिय विभूति, सुरक्षा निकायको भूमिका र स्थानीय संस्कृतिसम्बन्धी प्रदर्शनीले सीमा क्षेत्रलाई केवल आवतजावत र व्यापारका नाकाका रूपमा होइन, राष्ट्रिय पहिचान र गौरवका केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउछ ।
तर अटारी वाघाको हुबहु नक्कल नेपालका लागि उपयुक्त हुँदैन। भारत-पाकिस्तानको ऐतिहासिक तनाव र सुरक्षाको चुनौती छ । नेपालको सीमा सम्बन्धी संवेदनशीलता फरक छ। त्यसैले नेपालले अनुशासन, राष्ट्रप्रेम, नागरिक सहभागिता, राष्ट्रिय झण्डाको सम्मान र सीमालाई पर्यटनसँग जोड्ने अवधारणा ग्रहण गर्नुपर्छ।
राष्ट्रवाद नारामा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ। सीमामा उभिएको सुरक्षाकर्मी, राष्ट्रिय झण्डामुनि उभिएको नागरिक र आफ्नै देशको इतिहास तथा भूगोलप्रति गर्व गर्ने नयाँ पुस्ताबीच सम्बन्ध स्थापित गर्न सकियो भने यस्तो समारोह केवल परेड रहने छैन। यो राष्ट्रिय चेतना निर्माण गर्ने सार्वजनिक विद्यालय बन्न सक्छ। नेपालले यसरी चरणबद्धरुपमा कार्यक्रम गर्न सकिन्छ।

पहिलो चरण : अवधारणा र अध्ययन
सुरुमा गृह मन्त्रालयको नेतृत्वमा परराष्ट्र, रक्षा, संस्कृति-पर्यटन, शिक्षा, संघीय मामिला मन्त्रालय तथा सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गर्नु उपयुक्त हुन्छ।
कार्यदलले भारत र चीनसँग जोडिएका सीमा नाका, सुरक्षा संवेदनशीलता, पूर्वाधार, पर्यटकीय सम्भावना, स्थानीय समुदायको सहभागिता र छिमेकी मुलुकसँगको कूटनीतिक पक्ष अध्ययन गर्नुपर्छ। यस चरणमा ‘नेपाल सीमा राष्ट्रिय गौरव समारोह सञ्चालनसम्बन्धी कार्यविधि’ तयार गर्न सकिन्छ ।
दोस्रो चरण : नमुना कार्यक्रम
अध्ययनपछि सबैभन्दा उपयुक्त एक वा दुई सीमा नाका छनोट गरी ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गर्न सकिन्छ। भारततर्फको सीमामा काँकडभिट्टा, वीरगन्ज वा भैरहवा जस्ता प्रमुख नाकामध्ये उपयुक्त स्थान छनोट गर्न सकिन्छ।
चीनतर्फ पनि सुरक्षा तथा भौगोलिक अवस्थाअनुकूल एउटा सीमा क्षेत्र छनोट गर्न सकिन्छ। कार्यक्रममा दैनिक ठूलो सैनिक प्रदर्शन आवश्यक छैन। सुरुमा साप्ताहिक वा विशेष दिनमा १५-३० मिनेटको राष्ट्रिय समारोह पर्याप्त हुन सक्छ।
यसमा राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान, सुरक्षा निकायको औपचारिक मार्च, सीमा सुरक्षामा योगदान पुर्याउने व्यक्तिको सम्मान र स्थानीय सांस्कृतिक प्रस्तुति समावेश गर्न सकिन्छ।
तेस्रो चरण : विद्यालय र नागरिक सहभागिता
पाइलट कार्यक्रम सफल भएपछि यसलाई शिक्षा र पर्यटनसँग जोड्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि ‘सीमा अध्ययन भ्रमण’ सञ्चालन गर्न सकिन्छ।
विद्यार्थीलाई नेपालको नक्सा, सीमा इतिहास, सीमा स्तम्भ, संविधानमा रहेको सार्वभौमिकता र सीमा सुरक्षाबारे प्रत्यक्ष जानकारी दिने व्यवस्था गर्न सकिन्छ। यसले नयाँ पुस्तामा राष्ट्रप्रेमलाई केवल भाषण वा पाठ्यपुस्तकमा सीमित नराखी प्रत्यक्ष अनुभवमा आधारित राष्ट्रिय चेतनाका रूपमा विकास गर्न सहयोग पुर्याउँछ।
चौथो चरण : सीमा पर्यटनसँग एकीकरण
कार्यक्रमलाई नियमित पर्यटकीय उत्पादनका रूपमा विकास गर्नुपर्छ। प्रमुख सीमा नाकामा ‘राष्ट्रिय सीमा गौरव केन्द्र’ स्थापना गरी नेपालको नक्सा, सीमा इतिहास, स्थानीय संस्कृति, सुरक्षा निकायको भूमिका, राष्ट्रिय विभूति तथा महत्वपूर्ण ऐतिहासिक घटनासम्बन्धी प्रदर्शनी राख्न सकिन्छ।
सीमा समारोह हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय होटल, होमस्टे, हस्तकला, खानाका परिकार र सांस्कृतिक कार्यक्रमसँग जोडेर स्थानीय अर्थतन्त्रलाई लाभ पुर्याउने व्यवस्था गर्न सकिन्छ। यसरी सीमा नाका भन्सार र आवतजावतको केन्द्रबाट राष्ट्रिय पर्यटन गन्तव्यमा रूपान्तरण हुन सक्छ।
पाँचौँ चरण : राष्ट्रिय कार्यक्रमका रूपमा विस्तार
पाइलट कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा क्रमशः अन्य प्रमुख सीमा नाकामा कार्यक्रम विस्तार गर्न सकिन्छ। हरेक सीमा नाकाको आफ्नै स्थानीय विशेषता समेटिनुपर्छ । तर राष्ट्रिय झण्डा, राष्ट्रिय गान, संविधान, सार्वभौमिकता र सीमा सुरक्षासम्बन्धी मूल कार्यक्रम भने समान हुन सक्छ।
विशेष गरी संविधान दिवस, गणतन्त्र दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस तथा राष्ट्रिय एकता र सुरक्षा सम्बन्धी महत्वपूर्ण अवसरमा सबै प्रमुख सीमा नाकामा एकै समयमा विशेष समारोह आयोजना गर्न सकिन्छ ।
छैटौँ चरण : राष्ट्रिय सीमा दिवसको अवधारणा
दीर्घकालमा नेपालले ‘राष्ट्रिय सीमा दिवस’ मनाउने अवधारणामाथि पनि बहस सुरु गर्न सक्छ। त्यस दिन देशभरका विद्यालय, सरकारी कार्यालय, स्थानीय तह र सीमा क्षेत्रमा नेपालको भूगोल, सीमा सुरक्षा, राष्ट्रिय एकता र सार्वभौमिकतासम्बन्धी कार्यक्रम गर्न सकिन्छ। तर यसको मूल सन्देश स्पष्ट हुनुपर्छ सीमा कसैविरुद्धको घृणा होइन, आफ्नै देशप्रतिको जिम्मेवारी हो।
नेपालले यस मोडलमा पाँचवटा कुरा केन्द्रमा राखि गर्न सकिन्छ, पहिलो राष्ट्रिय झण्डाको सम्मान गर्ने, दोस्रो सीमा सुरक्षाप्रति नागरिक चेतना, तेस्रो युवा तथा विद्यार्थीको सहभागिता, चौथो स्थानीय संस्कृति र पर्यटनको प्रवर्द्धन , पाँचौँ छिमेकीप्रति सम्मानसहित नेपालको सार्वभौमिकताको दृढ अभिव्यक्ति ।
यसरी अघि बढ्दा ‘सीमा राष्ट्रिय गौरव समारोह’ कुनै एक सुरक्षा निकायको कार्यक्रम मात्र रहने छैन । यो गृह प्रशासन, सुरक्षा, शिक्षा, पर्यटन, स्थानीय विकास र राष्ट्रिय चेतनालाई जोड्ने बहुआयामिक कार्यक्रम बन्न सक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, यसलाई राजनीतिक दलको प्रचार कार्यक्रम बन्न दिनु हुँदैन । राष्ट्रिय झण्डा सबैको साझा हो, सीमा सबैको साझा हो र राष्ट्रप्रेम पनि कुनै दलको एकाधिकार होइन। नेपालले सीमामा शक्ति देखाउनेभन्दा राष्ट्रप्रतिको आत्मविश्वास देखाउने कार्यक्रम निर्माण गर्नुपर्छ। अटारी वाघाबाट लिनुपर्ने वास्तविक शिक्षा पनि यही हो।
No ads found for this position




Facebook Comment