नेपाली कांग्रेसको १५औं महाधिवेशन: डा. मिनेन्द्र रिजालद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका डा. रिजालले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताएका छन्। पार्टीभित्र बौद्धिक र प्रष्ट वक्ताको पहिचान बनाएका उनी यसअघि १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए।
नेपाली कांग्रेसको सोमबार सम्पन्न बैठकले संशोधित विधान पारित गर्दै पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ। नयाँ वैधानिक व्यवस्थाअनुसार १ वरिष्ठ उपसभापति र १ महिला उपसभापति थप गरी उपसभापतिको संख्या ४ पुर्याइएको छ।
यसपटक देशभरिबाट चुनिएर आएका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।
राष्ट्रिय सभागृहमा स्थापित निर्वाचन समितिको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन फारम वितरण सुरु भइसकेको छ भने दिउँसो १२:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment