बाढीपीडितलाई प्रचण्डको उपहार: २१ परिवारलाई नयाँ घर हस्तान्तरण

डिसी नेपाल
२७ असोज २०८३ १३:५३
20
Shares

काठमाडौं।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका बाढी तथा पहिरो प्रभावित २१ परिवारलाई नवनिर्मित अस्थायी आवास हस्तान्तरण गरेका छन्।

मंगलबार रसुवा जाने क्रममा नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपीडितका लागि योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले निर्माण गरेका घरहरू हस्तान्तरण गरिएको हो।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार रसुवा-भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीपहिरोका कारण घरवास गुमाएका विस्थापित परिवारको पुनःस्थापना र राहत व्यवस्थापनका लागि ती घरहरू निर्माण गरी हस्तान्तरण गरिएका हुन्।

२ दुई कोठा र शौचालयसहितका घर, १६० आवास निर्माण गर्ने लक्ष्य

वाईसीएलका अनुसार निर्माण गरिएका प्रत्येक अस्थायी आवास दुई कोठा र शौचालयसहितका छन्, जसको निर्माण लागत प्रतिघर करिब ४ लाख रुपैयाँ परेको छ। वाईसीएल नेपालले बाढी प्रभावित परिवारका लागि कुल १६० घर निर्माण गर्ने काम अघि बढाएको छ।

यसअघि संयोजक प्रचण्डले बाढी प्रभावितहरूका लागि तत्काल अस्थायी आवासको प्रबन्ध गर्न वाईसीएलका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।

आवास निर्माणका लागि वाईसीएलका ६ सयभन्दा बढी नेता-कार्यकर्ताहरू दैनिक १२ घण्टासम्म खटिएर निर्माण सामग्री, दाताको सहयोग र प्राविधिक परिचालनमार्फत काम सम्पन्न गरेका हुन्।

हाम्रा लागि यो आवास नै सिंहदरबार हो

घर प्राप्त गरेपछि प्रभावित परिवारहरूले खुसी व्यक्त गरेका छन्। बेलकोटगढी–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले आफ्नो आधा घर बाढीले पुरिएको अवस्थामा वाईसीएलले नयाँ घर बनाइदिएकामा खुसी हुँदै भने, “हाम्रा लागि यो केवल बास मात्र नभएर सिंहदरबार सरह हो।” स्थानीय प्रभावितहरूले अब यो दसैँ सुरक्षित घरभित्र मनाउन पाउने बताएका छन्।

घर हस्तान्तरणपछि बाढी प्रभावित क्षेत्रको समग्र अवस्था, पीडित परिवारको पुनःस्थापना तथा पुनर्निर्माणको प्रगतिबारे प्रत्यक्ष जानकारी लिन प्रचण्ड मंगलबार नै रसुवातर्फ प्रस्थान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *