खगेन्द्र सुनार प्रकरणमा पद्मा अर्यालको प्रतिक्रिया : संसद्बाटै छानबिन गर्नुपर्ने माग (भिडियोसहित)

डिसी नेपाल
२७ असोज २०८३ १३:२४
8
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भइरहेको अडियो प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्।

सार्वजनिक भइरहेको अडियोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै अर्यालले सांसदजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट त्यस्तो व्यवहार र मनसाय प्रकट हुनु दुःखद भएको टिप्पणी गरेकी छन्।

सार्वजनिक पदमा पुगेको व्यक्ति आफ्नो निजी जीवनमा मात्रै सीमित नरहने उल्लेख गर्दै उनले त्यस्तो व्यक्ति सामाजिक तथा सार्वजनिक व्यक्तित्वसमेत हुने बताइन्। सार्वजनिक व्यक्तित्वले निश्चित मर्यादा र आचरण कायम राख्नुपर्ने, जवाफदेही बन्नुपर्ने र जनताको सेवकको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

“एउटा सांसद, मुलुकको सांसदबाट त्यस्तो खालको हर्कत, त्यस्तो खालको व्यवहार र मनसाय प्रकट हुनु निकै दुःखद कुरा हो,” अर्यालले भनिन्।

उनले यस प्रकरणलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताउँदै सम्बन्धित राजनीतिक दलले छानबिन गर्नुपर्ने धारणा राखिन्। पार्टीबाट मात्रै नभई आवश्यक परे संसद्बाट समेत छानबिन हुनुपर्ने उनको माग छ।

सांसदको हैसियतमा संसद्ले पनि यस विषयमा छानबिन गरेर सुनार दोषी भए–नभएको यकिन गर्नुपर्ने अर्यालले बताइन्। दोषी ठहर भएमा प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ।

सुनारसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि रास्वपाले समेत उनीमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। छानबिनबाट तथ्य स्पष्ट हुनुपर्ने र दोषी ठहर भए कानुनअनुसार प्रक्रिया अघि बढाउनुपर्ने आवाज उठिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *