बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु
काठमाडौं। गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।
बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कविहीन भएका थिए। जसमध्ये ६ जनाको परिवारलाई तत्कालको राहत प्रदान गरिएको हो।
सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसकेका छन्। राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रहसमेत गरिएको छ।
प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।
साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ। प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment