विवादास्पद अडिओ बाहिरिएपछि खगेन्द्र सुनार पार्टी कार्यक्रम बीचमै छाडेर फर्किए

डिसी नेपाल
२७ असोज २०८३ १४:३६
148
Shares

काठमाडौं। बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँगको धम्कीपूर्ण तथा अश्लील अडिओ संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं बाँके-३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर फर्किएका छन्।

पार्टीले सांसदको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि दाङमा सर्वेक्षणका लागि खटिएका सुनार मंगलबार बिहानै कार्यक्रमस्थलबाट फिर्ता भएका हुन्।

रास्वपाले आगामी निर्वाचन लक्षित सांगठनिक सर्वेक्षणका लागि सांसद सुनारसहित सांसदहरू नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार बेलुकी तुलसीपुर आइपुगेको सो टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण सम्पन्न गरेको थियो।

पूर्वकार्यतालिका अनुसार मंगलबार घोराही लगायतका क्षेत्रमा छलफल तय भए पनि सांसद सुनारको अनुपस्थितिमा अन्य दुई सांसदले बंगलाचुली गाउँपालिकामा पुगेर कार्यक्रम अघि बढाएका छन्।

विवादास्पद अडिओ सार्वजनिक भएलगत्तै रास्वपा अनुशासन आयोगले छानबिन प्रक्रिया अघि बढाउँदै सांसद सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार अनुशासन आयोगको छानबिन प्रतिवेदन नआउञ्जेलसम्मका लागि उनलाई पार्टी नेता तथा सांसदको हैसियतमा औपचारिक एवं सार्वजनिक कार्यक्रममा सहभागी हुन पूर्ण रूपमा रोक लगाइएको छ।

यता, सांसद सुनारले भने दाङबाटै एक भिडिओ सन्देश जारी गर्दै सार्वजनिक भएको अडिओ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी बनाइएको ‘फेक’ भएको दाबी गरेका छन्। उनले नेपाल प्रहरीका केही व्यक्तिले आफूलाई नियोजित रूपमा फसाउन र बदनाम गराउन षड्यन्त्र गरेको आरोपसमेत लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *