उदयपुरमा दुई दिनमा तीन स्थानबाट १२ क्विन्टलभन्दा बढी गाँजा बरामद, दुई पक्राउ
उदयपुर। उदयपुरका विभिन्न तीन स्थानबाट प्रहरीले दुई दिनको अवधिमा एक हजार १ सय ९९ केजीभन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ। जिल्लाको बेलका, कटारी र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न दुई युवकसहित गाँजा बोक्न प्रयोग गरिएका सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रामपुर, कटारी र बेल्टारबाट खटिएको टोलीले गरेको छुट्टाछुट्टै कारबाहीमा सो परिमाणको गाँजा बरामद भएको हो। प्रहरीको चेकिङका क्रममा रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको पिकअप गाडीबाट ६ वटा बोरामा रहेको १५९ केजी ४ सय ग्राम गाँजासहित चालक सप्तरीका २८ वर्षीय पशुपति साफी पक्राउ परेका छन्।
यसैगरी, कटारी नगरपालिका–६ स्थित साँगुरी पुल नजिकैको जङ्गलबाट पाँच वटा बोरामा राखिएको एक सय केजी गाँजासहित ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट २९ वटा बोरामा रहेको ९४० केजी ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंले जानकारी दिएका छन्।
तीनवटै स्थानबाट गरी कुल एक हजार १ सय ९९ केजी ८४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने बोलेरोबाट गाँजा बरामद भएको घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment