विपद् प्रतिकार्यमा रेडक्रस: पूर्वतयारीदेखि मैदानसम्मको अनुभव

विनिता पौडेल
२७ असोज २०८३ १०:५२
8
Shares

 रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गतेको बिहान अकल्पनीय र विनाशकारी बाढी आयो। उक्त आकस्मिक बाढीमा परेर धेरै व्यक्तिगत घरहरू बगे र ठूलो क्षति भयो। जलविद्युत् आयोजना, सडक, विद्यालय तथा स्वास्थ्य संस्थाजस्ता महत्त्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुग्यो।

बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनहरूको खोजीमा परिवारजन र आफन्तहरू भौतारिनुपर्ने, तड्पिनुपर्ने र अत्यन्तै चिन्तित हुनुपर्ने हृदयविदारक अवस्था सिर्जना भयो।

नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्ताहरूमध्ये राष्ट्रिय प्रतिकार्य टोलीका सदस्यद्वय नवीनराज तिवारी र प्रकाश कार्की पनि उक्त कार्यमा खटिनुभएको थियो।

उहाँहरू दुवैका लागि यस विपद्ले प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि साहस र प्रतिबद्धता मात्र पर्याप्त हुँदैन भन्ने कुरा पुनः स्मरण गरायो। बरु विपद्को पूर्वतयारी, सरोकारवालाहरूबीचको समन्वय र समुदायलाई सबैभन्दा बढी सहयोग चाहिएको समयमा छिटो र प्रभावकारी रूपमा परिचालित हुन सक्ने क्षमता उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सिकाइ प्रदान गर्‍याे।

उहाँहरू दुवैले एनआरटी तालिममा आफ्नो लामो समयदेखिको कार्यगत अनुभव र व्यावहारिक ज्ञान प्रस्तुत गर्नुभएको थियो। सन् २००१ मा नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई हाल चितवन जिल्ला शाखामा कार्यरत नवीनका लागि आपत्कालीन अवस्थामा काम गर्नु कुनै नौलो कुरा होइन।

अर्कातिर, जुनियर रेडक्रसबाट आफ्नो मानवीय स्वयंसेवा यात्रा सुरुआत गर्नुभएका प्रकाश सन् २००९ देखि नेपाल रेडक्रसको कर्मचारीका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले विकास निर्माणका कार्यक्रमका साथै आपत्कालीन प्रतिकार्यका कार्यहरूमा निरन्तर सहयोग पुर्याउँदै आउनुभएको छ।

तथापि, दुवै तालिमप्राप्त उद्धारकर्मीका अनुसार सन् २०२६ को जुन महिनामा नेपाल रेडक्रसद्वारा आयोजित ‘एनआरटी’ तालिमले केही फरक र नयाँ अनुभव प्रदान गर्‍याे। अर्थात्, यस तालिमले आपत्कालीन प्रतिकार्यका लागि अझ व्यवस्थित र समन्वयात्मक दृष्टिकोण प्रदान गरेको थियो।

नवीन स्मरण गर्नुहुन्छ- “मसँग पहिले नै व्यावहारिक स्थलगत अनुभव थियो। तर एनआरटी तालिमले मलाई अझ व्यवस्थित तरिका अपनाएर उक्त अनुभवलाई थप सुदृढ र परिमार्जित बनाउन ठूलो सहयोग पुर्‍यायो।”

उहाँका लागि तालिमका सबैभन्दा महत्त्वपूर्ण सिकाइहरूमध्ये क्षति तथा आपत्कालीन आवश्यकताको वस्तुनिष्ठ लेखाजोखा कसरी गर्ने र राहत वितरणको योजना अझ प्रभावकारी रूपमा कसरी बनाउने भन्ने नै थियो।

“विपद्का समयमा मानिसहरूका विभिन्न आवश्यकताहरू हुन्छन् र ती सबैलाई तत्काल एकैपटक पूरा गर्न प्रायः सम्भव हुँदैन,” नवीन भन्नुहुन्छ, “यस तालिमले मलाई प्रभावित परिवारहरूका सबैभन्दा अत्यावश्यक र प्राथमिकताका आवश्यकताहरू पहिचान गर्न तथा अझ लक्षित एवं प्रभावकारी ढङ्गले सहयोगको योजना बनाउन सहज बनायो।”

ती सिकिएका ज्ञान र सीपहरूको व्यावहारिक परीक्षण लगभग तुरुन्तै गर्नुपर्ने अवस्था आयो। रसुवा, नुवाकोट र धादिङसहित आसपासका जिल्लाहरूमा आएको भीषण बाढीपछि, प्रभावित समुदायहरूसम्म पुग्न उद्धार तथा राहतकर्मीहरूले ठूलो चुनौती र अड्चनको सामना गर्नुपर्‍याे।

बाढीले आवतजावतका मुख्य सडक मार्गहरूमा क्षति पुर्याएका कारण ती जिल्लाहरूमा पूर्ण रूपमा यातायात सम्पर्क विच्छेद भएको थियो। जसले गर्दा राहत सामग्रीको ओसारपसारमा ठूलो अवरोध सिर्जना भयो।

त्यसैगरी विद्युत् र सञ्चार सेवाहरू पनि नराम्ररी प्रभावित भएका थिए। सञ्चार अवरुद्ध हुँदा धेरै परिवारहरू आफ्ना प्रियजनहरूसँग सम्पर्क गर्न वा आवश्यक सूचना प्राप्त गर्न असमर्थ बने। साथै, त्यही कठिन समयमा, विपद्का कारण बेपत्ता भएका आफ्ना आफन्त तथा प्रियजनको खोजीमा मानिसहरू व्याकुल भएर भौतारिरहेका थिए।

प्रतिकार्यका क्रममा प्रकाशले द्रूत लेखाजोखाहरूमा सहयोग पुर्याउनुभयो। बाढी प्रभावितहरूको खोज, उद्धार तथा राहत वितरण व्यवस्थापनमा निरन्तर समन्वय गर्नुभयो। स्वयंसेवक परिचालनमा सहयोग एवं समन्वय गर्नुका साथै प्रभावितलाई नगद सहयोग प्रदान गर्न सकिन्छ कि भनेर यकिन गर्न बजारको द्रुत मूल्यांकन समेत गर्नुभयो।

“यसअघि पनि मैले विभिन्न विपद्को प्रतिकार्यमा संलग्न भएर परिस्थिति सामना गरेको थिएँ, तर भोटेकोशी बाढीको अवस्था भने अत्यन्तै फरक र विकराल थियो,” प्रकाश भन्नुहुन्छ, “त्यहाँको विनाश र सर्वस्व गुमाएका धेरै बालबालिकालाई देख्दा म निशब्द भएँ।”

ती कठिन परिस्थितिहरूमा, एनआरटी तालिमबाट प्राप्त मूल्याङ्कनसम्बन्धी सीपहरूले अति आवश्यक दिशा र मार्गदर्शन प्रदान गर्न मद्दत गरे। उहाँ भन्नुहुन्छ, “विपद्ले पुर्‍याएको ठूलो क्षति देखेर आत्तिनुको सट्टा, आवश्यकताको मूल्यांकन गर्ने विधिले मानिसहरूलाई तत्काल के-कस्ता सहयोग चाहिएको छ भन्ने बुझ्न र सबैभन्दा बढी जोखिममा रहेका परिवारलाई पहिले प्राथमिकता दिन मलाई सजिलो बनायो।”

यता चितवन जिल्लामा नदीको तल्लो तटीय क्षेत्रमा, नवीन प्रतिकार्यको अर्को एक महत्त्वपूर्ण पक्षमा सहयोग गरिरहनुभएको थियो। उहाँले केन्द्रीय कार्यालय, स्थानीय निकाय, सुरक्षा निकाय, जिल्ला शाखाहरू र स्वयंसेवकहरूसँग नजिक रहेर काम गर्नुभयो।

उहाँ भन्नुहुन्छ- “मैले समन्वयात्मक निर्णय प्रक्रियामा सहयोग पुर्याएँ। साथै सही सूचना संकलन, विश्लेषण र आदानप्रदान सुनिश्चित गर्न मद्दत गरेँ।”

प्रकाशका अनुसार पनि तालिम अत्यन्तै उपयोगी साबित भयो। “किनभने परिस्थिति द्रूत गतिमा परिवर्तन भइरहेको थियो र प्रभावकारी समन्वय भनेको सही जानकारी तथा स्पष्ट सञ्चारमा निर्भर हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “तैपनि, आपत्कालीन प्रतिकार्यका प्राविधिक पक्षहरूका बीचमा पनि, त्यस सङ्कटसँग जोडिएका व्यक्तिगत र मार्मिक कथाहरूलाई बेवास्ता गर्न असम्भव थियो।”

नवीनका लागि सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील जिम्मेवारीहरूमध्ये एउटा नदी किनारमा फेला परेका मानव अवशेषहरूको व्यवस्थापन गर्ने कार्य थियो।

“बाढीले माथिल्लो भागका जिल्लाहरूबाट शवहरू बगाएर ल्याएको थियो र धेरैजसो शवहरू केही दिनपछि मात्र फेला परेका थिए,” उहाँ स्मरण गर्नुहुन्छ, “केही शवहरू गम्भीर रूपमा कुहिएका थिए, जसले गर्दा पहिचान गर्न अत्यन्तै चुनौतीपूर्ण बनेको थियो। एउटा सम्झना विशेष रूपमा मेरो मानसपटलमा जीवन्त छ- जब मैले शव राखिने केन्द्रको भ्रमण गरेको थिएँ, मलाई सधैँ याद रहने एउटा भावुक क्षण रहन गयो।”

बाढीपछि फेला परेका सामानहरूमध्ये एउटा बच्चाको विद्यालयको टाई पनि थियो। उहाँ भन्नुहुन्छ- “त्यो टाई एउटा महत्त्वपूर्ण सूचना बन्यो, जसले बच्चाको पहिचान गर्न र शोकाकुल परिवारलाई जवाफ दिन मद्दत गर्यो। विद्यालयको एउटा सामान्य टाई कसरी परिवार र उनीहरूका प्रियजनबीचको एकमात्र सम्पर्क सूत्र बन्यो भन्ने कुरा निकै मर्माहत र भावुक बनाउने खालको थियो।”

प्रकाशलाई पनि उद्धार तथा राहत कार्यका क्रममा भेटेका मानिसहरू र उनीहरूको पीडा स्पष्ट याद छ। “धेरै परिवारले आफ्ना कम उमेरका सदस्यहरू गुमाएका थिए,” उहाँ भन्नुहुन्छ, “उनीहरू सबैमाझ एउटा साझा कुरा के थियो भने, उनीहरू आफ्ना प्रियजनहरूको सम्झनामा तड्पिरहेका थिए, त्यहाँ भौतिक सम्पत्ति कसैका लागि पनि महत्त्वपूर्ण थिएन।”

यस चुनौतीपूर्ण समयमा, धेरै मानिसहरूले आफ्नै व्यक्तिगत क्षति बेहोर्नुपरेको भए तापनि प्रभावित समुदायहरूलाई सहयोग गर्न अभूतपूर्व अग्रसरता देखाए।

दुवै उद्धारकर्ताका लागि, यी अनुभवहरूले मानवीय कार्यसम्बन्धी एउटा साझा पाठलाई अझ बलियो बनाएको छ। स्वयंसेवक तथा समुदायका सदस्यहरूसँग मिलेर काम गर्ने क्रममा उहाँहरूले असीम पीडाका साथै उल्लेखनीय सहनशीलता र ऐक्यबद्धता पनि देख्नुभयो।

स्वयंसेवक नवीन भन्नुहुन्छ- “हरेक तथ्यांक र सङ्ख्याको पछाडि एक जीवित व्यक्ति, एउटा परिवार र सधैँका लागि बदलिएको जीवन लुकेको हुन्छ।”

नेपालभरि जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमहरू दिनानुदिन बढ्दै जाँदा, हालैका बाढी प्रतिकार्यका अनुभवबाट सिकिएका पाठहरू पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेका छन्।

नवीन र प्रकाशजस्ता विपद् प्रतिकार्यमा खटिने प्राविधिकहरूका लागि, पूर्वतयारी भनेको विपद् आइपर्दा काम गर्न तयार रहनु मात्र होइन; यसको वास्तविक अर्थ अत्यन्त कठिन क्षणको सामना गरिरहेका मानिसहरूले आफूलाई सबैभन्दा बढी आवश्यकता पर्दा समयमै सहयोग, सम्मान र आशा प्राप्त गर्ने सुनिश्चित गर्नु पनि हो।

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा प्राथमिकताका साथ स्थान पाउँछ, तर यसको वास्तविक प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी संकटको सामना गर्न अझ राम्ररी तयार भएको हरेक समुदायमा गहिरोसँग महसुस गरिन्छ। रासस

(लेखक पौडेल, इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेडक्रिसेन्ट सोसाइटीज  नेपालस्थित नेशनल सोसाइटी प्रिपियर्डनेस संयोजक हुन्।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *