बंकरयुक्त भूमिगत महलहरूमा बस्न थाले साउदी युवराज

डिसी नेपाल
२७ असोज २०८३ ११:५३
56
Shares

काठमाडौं । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका मुख्य सहर र विमानस्थलहरूमाथि शृङ्खलाबद्ध र घातक मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनाएपछि साउदी युवराज मोहम्मद बिन सलमानको सुरक्षा व्यवस्था अत्यधिक कडा बनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ४१ वर्षीय साउदी युवराजलाई उच्च सुरक्षा घेराभित्र बङ्कर जडान गरिएका विशेष भूमिगत महलहरूमा स्थानान्तरण गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ।

‘द वाल स्ट्रिट जर्नल’ले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, गत मङ्गलबार रक्तदान कार्यक्रममा सार्वजनिक रूपमा देखिएयता युवराज सलमान सार्वजनिक स्थलहरूमा देखिएका छैनन्। उनलाई चुनिएका विशेष कमान्डोहरूको टोलीले चौबीसै घण्टा कडा सुरक्षा दिइरहेको छ।

साउदी अरेबियामा पछिल्लो एक दशककै सबैभन्दा घातक आक्रमण रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । शनिबार भएको क्षेप्यास्त्र प्रहारबाट १ अमेरिकी नागरिकसहित १३ जनाको ज्यान गएको थियो भने ३०० भन्दा बढी मानिसहरू घाइते भएका छन्। त्यसपछि पनि सोही विमानस्थलमा निरन्तर आक्रमणहरू भइरहेका छन्।

लगातारको आक्रमणका कारण किङ खालिद विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ, जसका कारण सोमबार तय भएका करिब ६० प्रतिशतभन्दा बढी उडानहरू रद्द भएका छन्।

साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले यस आक्रमणको कडा जवाफ दिने चेतावनी दिए पनि, लगातारको हमला रोक्न साउदी सेनासँग एयर डिफेन्स इन्टरसेप्टर मिसाइलहरूको चरम अभाव भएको छ। साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र मिस्रसँग थप हवाई सुरक्षा प्रणाली माग गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग मिलेर हुथी विद्रोहीहरूविरुद्धको सैन्य कारबाहीमा अमेरिका पनि प्रत्यक्ष सहभागी हुनेबारे समीक्षा भइरहेको बताएका छन्। इरानका विदेशमन्त्री अब्बास अराघची र साउदी विदेशमन्त्रीबिच टेलिफोन वार्ता पनि भएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले युद्ध चर्कँदा त्यसको फाइदा केवल इजरायललाई पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् र इरानले हुथी र साउदीबिच मध्यस्थताका लागि प्रयास गर्न तयार रहेको बताएको छ।

सन् २०२२ मा भएको नाजुक युद्धविराम गत जुलाई महिनामा साउदी र हुथीबिच पुनः तनाव बढेपछि भङ्ग भएको थियो। साउदी नेतृत्वको गठबन्धनले यमनमा नयाँ सैन्य अभियान सुरु गरेपछि हुथीहरूले साउदीका मुख्य ऊर्जा पूर्वाधार र नागरिक विमानस्थलहरूलाई निशाना बनाउन थालेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *