आफूमाथि लागेका आरोप झुटा भएको दाबी गर्दै खगेन्द्र सुनारले भने-छानबिनको सामना गर्न तयार छु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै आफ्नो नाम जोडेर सार्वजनिक गरिएको विवादास्पद अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको दाबी गरेका छन्।
प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध कडा प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको र विभिन्न षड्यन्त्रपूर्ण आरोप-प्रत्यारोपको सिकार बनाइएको उनको गुनासो छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले एक काल्पनिक महिला तथा अन्य सन्दर्भ जोडी हिजोदेखि प्रसारित अडियो कपोलकल्पित रहेको जिकिर गरेका छन्। आफूविरुद्ध हालसम्म बाहिर आएका सबै प्रकारका आरोपहरू पूर्ण रूपमा झुटा र निराधार भएको उनको भनाइ छ।
“आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्। एआई लगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
देशमा व्याप्त भ्रष्टाचारविरुद्ध प्रश्न उठाएको कारण नै एक नागरिक र जनप्रतिनिधिका रूपमा आफूले निर्मम अत्याचार तथा घृणाको सामना गर्नुपरिरहेको दाबी उनले गरेका छन्। आफूमाथि उठेका प्रत्येक प्रश्न, लाञ्छना र अडियो प्रकरणको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गर्न उहाँले पार्टी र सरकारसँग जोडदार माग गरेका छन्।
‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म ज जुनसुकै छानबिनको सामना गर्न र जवाफ दिन तयार छु,’ सांसद सुनारले भनेका छन्। यसैबीच, यो विवाद उत्कर्षमा पुगेसँगै रास्वपाले पनि यस विषयमा आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।
यो पनि पढ्नुस्
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
No ads found for this position



डिसी नेपाल
Facebook Comment