श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षे आईसीयूमा भर्ना, श्रीमतीको जमानत याचिका अदालतद्वारा खारेज
काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे र उनको परिवारको कानुनी तथा व्यक्तिगत सङ्कट थप गहिरिएको छ। एकातिर पूर्वप्रथम महिला शिरान्ती राजपाक्षे को अग्रिम जमानत याचिकालाई अदालतले खारेज गरिदिएको छ भने अर्कातिर पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको स्वास्थ्यमा अकस्मात् गम्भीर समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
राजपाक्षेको राजनीतिक दल ‘श्रीलङ्का पोदुजाना पेरामुना’ ले दिएको जानकारीअनुसार सोमबार बिहान अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। हाल उनलाई चिकित्सकहरूको गहन निगरानीमा आईसीयूमा राखेर उपचार भइरहेको छ।
महिन्दा राजपाक्षे अस्पताल भर्ना हुनुअघि नै उनको परिवारका सदस्यहरू गम्भीर वित्तीय अनियमितता र भ्रष्टाचारका मुद्दाहरूमा घेरिसकेका थिए । शिरान्ती राजपाक्षेलाई घूसखोरी तथा भ्रष्टाचार अनुसन्धान आयोगका अधिकारीहरूले बयान लिएपछि उनको किरुलापोनेस्थित निवासबाटै गिरफ्तार गरेका थिए।
कोलम्बोस्थित ‘लेडी रिडवे चिल्ड्रन्स हस्पिटल’ लाई एउटा सीटी स्क्यानर मेसिन खरिद गरी हस्तान्तरण गर्नका लागि ‘सिरिलिया सेविया’ नामक संस्थाको माध्यमबाट १० मिलियन श्रीलङ्काली रुपैयाँ सङ्कलन गरिएको थियो। तर, सो मेसिन अस्पताललाई नदिई रकम हिनामिना गरिएको गम्भीर आरोप उनीमाथि छ।
सोही भ्रष्टाचार मुद्दामा गिरफ्तारीबाट बच्न शिरान्तीले दायर गरेको अग्रिम जमानत याचिकालाई कोलम्बोका मजिस्ट्रेटले विचार विमर्शपछि खारेज गरिदिएका छन्। राजपाक्षे परिवारमाथि भइरहेको कानुनी कारबाही शिरान्तीमा मात्र सीमित छैन। महिन्दा राजपाक्षेका जेठा छोरा, सांसद तथा विपक्षी नेता नमल राजपाक्षे पनि वित्तीय गडबडीका फरक-फरक मुद्दाहरूमा छानबिनको दायरामा छन्। गत सेप्टेम्बर महिनामा एक वित्तीय अपराध सम्बन्धी मुद्दामा उनलाई न्यायिक हिरासतमा समेत लिइएको थियो।
एकातर्फ परिवारका मुख्य सदस्यहरू जेल र अदालतको चक्करमा पर्नु र अर्कातिर परिवारका वरिष्ठ नेता महिन्दा राजपाक्षे आईसीयूमा भर्ना हुनुले श्रीलङ्काको राजनीतिमा एक समय एकछत्र राज गरेको राजपाक्षे परिवारको राजनीतिक भविष्य थप अनिश्चित बनेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment