उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संकेत गरेका छन् । उनले किमसँग भेट हुने सम्भावनालाई ‘रोमाञ्चक’ अवसरका रूपमा व्याख्या गरेका छन् ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग भेटवार्ता हुन सक्ने बताएका हुन् । किमसँग भेट्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हुन सक्छ । त्यो रोमाञ्चक हुनेछ, होइन र ? तर मेरो उनीसँग राम्रो सम्बन्ध छ ।’
ट्रम्प नोभेम्बर १८ र १९ मा चीनको शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम छ । सोही भ्रमणका क्रममा किमसँग भेटवार्ता हुन सक्ने उनको भनाइले दुई देशबीचको सम्बन्धमा पुनः कूटनीतिक संवाद अघि बढ्ने सम्भावनालाई चर्चामा ल्याएको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेटवार्ता गरेका थिए । सन् २०१८ मा सिंगापुरमा भएको पहिलो भेटपछि दुवै नेताबीच सन् २०१९ मा भियतनामको हनोई र कोरियाली प्रायद्वीपको असैन्यीकृत क्षेत्रमा पनि भेट भएको थियो । तर, आणविक निःशस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसक्दा दुई देशबीचको वार्ताले अपेक्षित परिणाम दिन सकेन ।
यसअघि गत अगस्टमा ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले उत्तर कोरियाली नेता किमसँग आफ्नो ‘निकै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै संयुक्त सैन्य अभ्यासको लागत र त्यसले प्योङयाङलाई दिने सन्देशप्रति असन्तुष्टि जनाएका थिए । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाप्रति अनुचित र शत्रुतापूर्ण सन्देश जाने बताएका थिए । अभ्यास रद्द गर्न ढिला भइसकेकाले त्यसको आकार घटाउन युद्धमन्त्री पिट हेगसेथलाई निर्देशन दिएको उनको भनाइ थियो ।
त्यसपछि दक्षिण कोरिया र अमेरिकाले अगस्ट २१ मा आफ्नो प्रमुख संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि नै सम्पन्न गरेका थिए । सामान्यतया ११ दिनसम्म चल्ने ‘उल्ची फ्रिडम सिल्ड’ (यूएफएस) अभ्यासलाई पाँच दिनमा सीमित गरिएको थियो । उक्त अभ्यासमा कमान्ड पोस्टमा आधारित सैन्य सिमुलेसन र कोरियाली प्रायद्वीपमा सम्भावित संकट सामना गर्ने उद्देश्यका स्थलगत सैन्य गतिविधि समावेश हुन्छन् । एएनआई
No ads found for this position



डिसी नेपाल
Facebook Comment