यमनस्थित राष्ट्रपति भवनमा हुथीको मिसाइल प्रहार: ५ जनाको मृत्यु
रियाद। यमनको अन्तरिम राजधानी अदनस्थित अल-माशिक राष्ट्रपति भवन परिसरलाई लक्षित गरी हुथी विद्रोहीहरूले गरेको भीषण मिसाइल आक्रमणमा परी कम्तीमा ५ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा यमनी प्रधानमन्त्रीका दुई जना सुरक्षागार्ड समेत रहेको यमनका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। रोयटर्सका अनुसार आक्रमणका बखत प्रधानमन्त्री र मन्त्रिपरिषद्का अन्य उच्च सदस्यहरू भवनभित्रै थिए।
यद्यपि, सरकारका शीर्ष अधिकारीहरू भने पूर्ण रूपमा सुरक्षित रहन सफल भएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए र आक्रमण लगत्तै धुवाँको ठूलो मुस्लो देखिएको थियो।
हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सरीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य परिचालन मुख्यालयलाई निशाना बनाइएको दाबी गरेका छन्।
साउदी सेनाको उपस्थिति, सैन्य गतिविधि र जमघट रहेका स्थानहरूलाई लक्षित गर्ने आफ्नै घोषित नीतिअनुसार आक्रमण गरिएको उनले बताएका छन्। यसैबीच, साउदी अरबले हुथी समूहका यी आक्रमणहरूलाई ‘पूर्ण युद्ध अपराध’ को संज्ञा दिँदै यसले मुस्लिम समुदायका पवित्र धार्मिक स्थलहरू र तीर्थयात्रीहरूको सुरक्षालाई गम्भीर जोखिममा पारेको आरोप लगाएको छ।
सरकारी सुरक्षा बललाई साउदी नेतृत्वको गठबन्धनले निरन्तर सहयोग गरेपछि हुथीहरूले साउदी अरबका विमानस्थल, बन्दरगाह र तेल प्रशोधन केन्द्रहरूमा पनि ड्रोन तथा मिसाइल आक्रमण तीव्र पारेका छन्।
साउदी गठबन्धनका प्रवक्ता तुर्की अल-मलिकीका अनुसार यसै महिना हुथीहरूले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा २० पटक आक्रमण गर्दा १७ जनाको मृत्यु र ३३३ जना घाइते भएका छन्।
त्यसैगरी दक्षिणपश्चिम साउदीको सीमावर्ती क्षेत्रमा रहेको आभा विमानस्थलमा भएका आक्रमणमा ३ जनाको मृत्यु र २८ जना घाइते भएका छन्। अल–मलिकीले हुथीहरूले बाह्य सहयोगमा ब्यालिस्टिक मिसाइल, ड्रोन र विस्फोटक डुंगाहरू जस्ता आधुनिक प्रविधि प्राप्त गरिरहेको आरोप लगाएका छन्। यद्यपि साउदी सेनाले यमनका पहाडी भागमा रहेका हुथीका १२७ वटा हतियार भण्डारण र मिसाइल प्रक्षेपण केन्द्र नष्ट गरेको दाबी गरेको छ।
हुथी सैन्य प्रवक्ताले साउदी अरबका विमानस्थल र हवाई क्षेत्र पूर्ण रूपमा असुरक्षित रहेको भन्दै मक्का र मदिनाको हवाई क्षेत्रबाहेक अन्य स्थानमा पुन: चेतावनी दिएका छन्। यसै चेतावनीका कारण साउदीस्थित अमेरिकी दूतावासले साउदीका विमानस्थलहरूमा हुनसक्ने सम्भावित आक्रमणको खतरा औँल्याउँदै आफ्ना कर्मचारीहरूको यात्रामा प्रतिबन्ध लगाएको छ।
साथै समुद्री सुरक्षा अनुगमन निकायले इरानी आक्रमण र ड्रोन उडानका कारण हर्मुज जलडमरूमध्य क्षेत्रमा “गम्भीर”चेतावनी जारी राखेको छ। यता इत्तेहाद एयरवेजले अबुधाबीबाट रियाद जाने सबै उडानहरू अक्टोबर १९ अर्थात् आगामी कात्तिक २ गतेसम्मका लागि रद्द गरेको छ भने दमाम र जेद्दाहका उडानहरूसमेत प्रभावित भएका छन्। कतार एयरवेजले पनि रियाद र दमाम जाने तथा फर्कने उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ।
सन् २०१४ मा हुथी विद्रोहीले साना कब्जा गरेपछि यमन द्वन्द्वमा फसेको हो र त्यसपछि अदनलाई अन्तरिम राजधानी बनाइएको थियो। सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले सरकारी सेनाको पक्षमा सैन्य हस्तक्षेप गरेको थियो।
सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा ६ महिनाको औपचारिक युद्धविराम भए पनि त्यसयता राजनीतिक समाधान जुट्न सकेको छैन। पछिल्लो अदन आक्रमण र साउदी क्षेत्रमाथिको धावाका कारण समग्र खाडी क्षेत्रमा नै युद्ध र तनाव थप चुलिने खतरा बढेको छ।
यसैबीच साउदी अरबले यमनको हुथी विद्रोही समूहले गरिरहेको पछिल्लो शृंखलाबद्ध आक्रमणको कडा भत्सर्ना गर्दै त्यसलाई ‘पूर्ण युद्ध अपराध’ को संज्ञा दिएको छ। साउदी सरकारले हुथी समूहले मुस्लिम समुदायका पवित्र धार्मिक स्थलहरू र तीर्थयात्रीहरूको सुरक्षालाई गम्भीर खतरामा पारेको आरोप समेत लगाएको छ।
बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै साउदी अरबस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरूको यात्रामा प्रतिबन्ध लगाउँदै साउदीका विमानस्थलहरूमा सम्भावित आक्रमण हुन सक्ने भन्दै उच्च सतर्कताको चेतावनी जारी गरेको छ।
यसैबीच, यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले अदनस्थित अल-माशिक राष्ट्रपति भवनलाई लक्षित गरी हुथी समूहले गराएको भीषण क्षेप्यास्त्र आक्रमणमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरू सकुशल बच्न सफल भएको जनाएको छ। यमनका स्वास्थ्य मन्त्रीका अनुसार उक्त आक्रमणमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। हुथी समूहले भने साउदी सैन्य परिचालनको मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।
अर्कोतर्फ, समुद्री क्षेत्रको सुरक्षा अनुगमन गर्ने निकाय यूकेएमटीओले हर्मुज जलडमरूमध्यका लागि आफ्नो “गम्भीर” चेतावनीको स्तरलाई कायम राखेको छ। उक्त क्षेत्रमा इरानी आक्रमणहरू र ड्रोनहरूको लगातारको उडान जारी रहेकाले व्यापारिक तथा समुद्री जहाजहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment