पश्चिमी वायुको प्रभाव: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु

डिसी नेपाल
३० असोज २०८३ ७:०६
4
Shares

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसको प्रभावका कारण आज र भोलि देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी लगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रको मौसम सफा रहने पूर्वानुमान छ।

यसैगरी, देशका हिमाली भूभागका थोरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान र अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *