विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

डिसी नेपाल
१ कार्तिक २०८३ २०:१३
4
Shares

काठमाडौं। नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ।

सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाएको जनाएको हो।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार नागरिकको जीवन रक्षा र सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सेनाले खोज, उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय भूमिका निर्वाह गरेको छ।

रसुवामा बाढीपछि प्रभावित क्षेत्रको अवस्थाबारे स्मरण गराउँदै सेनाले लेखमार्फत सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको छ।’

समर्पणले नागरिकमा भरोसा जगाएको छ

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेकै बेला असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम थप बढाएको थियो।

बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा जनधनको क्षति भएको थियो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याउँदा स्थानीय बासिन्दा र पर्यटकको आवागमनसमेत प्रभावित भएको थियो।

त्यस्तो कठिन परिस्थितिमा नेपाली सेनाले नागरिकको जीवन रक्षा र सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रियता देखाएको जनाएको छ।

प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरी विपद् प्रतिकार्यलाई तीव्रता दिएको थियो। जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याइएको थियो।

सडक अवरुद्ध भएका स्थानमा उद्धार तथा सडक पुनः सञ्चालनका लागि प्रयोग गरिने मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको प्रयोगसमेत गरिएको थियो। बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गरेर विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने सेनाको तत्परता र व्यावसायिक क्षमता यसबाट प्रतिबिम्बित भएको विवरणमा उल्लेख छ।

यसै क्रममा मनाङको चामे गाउँपालिका-४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन सेना सक्रिय रहेको थियो। अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्नुका साथै बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउन पनि सेनाले योगदान पुर्‍याएको थियो।

त्यस्तै, नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका पर्यटकको शव हवाई माध्यमबाट उद्धार गर्ने कार्यमा सहयोग गरेर सेनाले मानवीय दायित्व निर्वाह गरेको थियो।

असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारमा पनि सेना तत्काल परिचालित भएको थियो। एमआई-१७ सहित चारवटा हेलिकप्टर तथा स्थलमार्गबाट परिचालित उद्धार टोलीले विभिन्न प्रभावित क्षेत्रबाट विदेशी नागरिकसहित एक हजार १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।

बाढी प्रभावित स्थानीयका घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गर्नुका साथै सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको थियो।

बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी आवागमन पुनः सञ्चालन गर्ने तयारी अघि बढाउनु पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सेनाले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकामध्ये एक रहेको विवरणमा उल्लेख छ।

यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न सेनाले देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोबृज जडान गरी सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई पुनः जोड्न सहयोग गरेको थियो।

सेनाका यी प्रयास खोज, उद्धार र राहत वितरणमा मात्र सीमित नरहेको विवरणमा उल्लेख छ। विपद्मा परेका नागरिकको जीवन रक्षा, आधारभूत आवश्यकताको परिपूर्ति, सुरक्षित आवागमनको व्यवस्था र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु पनि सेनाको महत्त्वपूर्ण जिम्मेवारी रहेको जनाइएको छ।

जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले नागरिकको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धता व्यवहारमै देखाएको सेनाको भनाइ छ।

विपद् व्यवस्थापन सबै सम्बद्ध निकायको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी हुन सक्ने सेनाले जनाएको छ । नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह तथा समुदायबीच स्थापित समन्वय र सहकार्यले खोज, उद्धार, राहत वितरण र तत्कालको पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाएको विवरणमा उल्लेख छ।

अन्य सुरक्षा निकाय तथा सम्बद्ध सरोकारवालाको एकीकृत प्रयासले विपद् प्रभावित नागरिकलाई समयमै सहायता पुर्‍याउन र जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान दिएको सेनाले जनाएको छ। भौगोलिक अवस्था, सीमित एयर स्पेस, थुनिएका टनेल र पूर्ण रूपमा बन्द स्थलमार्गजस्ता चुनौतीका बाबजुद विपद्पछिको हवाई, जमिनी तथा टनेल खोज र उद्धार कार्य त्रुटिरहित ढङ्गले सम्पन्न गर्न सेना सफल भएको विवरणमा उल्लेख छ।

प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित हुँदा उनीहरूको जीवन रक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको सेनाले जनाएको छ। उक्त दायित्व निर्वाहका क्रममा सेनाले देखाउँदै आएको तत्परता, मानवीय संवेदनशीलता र समर्पणले सङ्कटका बेला नागरिकमा भरोसा र आशा जगाएको विवरणमा उल्लेख छ।

सेवा, सुरक्षा र मानवीय समर्पणलाई मूल भावका रूपमा आत्मसात् गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *