भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात र बिक्री वितरणमा रोक, बजारमा रहेका उत्पादन फिर्ता गर्न निर्देशन
रुपन्देही। भारतमा उत्पादित ‘प्रियागोल्ड’ ब्रान्डका बिस्कुटहरूको नेपालमा पैठारी, प्रवेश अनुमति तथा बिक्री वितरणमा रोक लगाइएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो कडा कदम चालको हो।
विभागले सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारतद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको पैठारी स्वीकृति तत्कालका लागि स्थगित गरेको छ। साथै, अर्को आदेश नभएसम्म नेपालमा उक्त बिस्कुटको बिक्री वितरण पूर्ण रूपमा रोक्न र बजारमा परिसकेका सम्पूर्ण उत्पादनहरू फिर्ता ल्याउन सम्बन्धित आयातकर्ता, पैठारीकर्ता तथा खाद्य व्यवसायीहरूलाई निर्देशन जारी गरिएको छ।
विभागले २०८३ असोज ९ गते जारी गरेको सूचनाअनुसार उत्पादन मिति जुनसुकै भए पनि प्रियागोल्ड ब्रान्डका सबै ब्याचका बिस्कुटहरूमा यो प्रतिबन्धात्मक व्यवस्था लागू हुनेछ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको एक सूचनाका आधारमा उक्त बिस्कुट उत्पादक कम्पनीको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको थियो। भारतीय नियामक निकायले गरेको स्थलगत निरीक्षणका क्रममा कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा उत्पादनस्थलको मर्मतसम्भारमा ठूला त्रुटिहरू भेटिएका थिए।
विशेष गरी, बिस्कुट उत्पादनका क्रममा रेशा वा फाइबरको स्रोतका रूपमा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर (क्याटल फिड ब्रान) मिसाइएको पाइएको छ भने यो कुरा उपभोक्तालाई स्पष्ट रूपमा जानकारी गराइएको थिएन।
यी गम्भीर मापदण्ड उल्लङ्घनका घटनालाई मध्यनजर गर्दै भारतीय नियामकले कम्पनीको इजाजतपत्र निलम्बन गर्नुका साथै थप कानुनी कारबाही अगाडि बढाउने स्वीकृति दिएको थियो। सोही रिपोर्ट र विभागको उच्च व्यवस्थापन समूह तथा उत्पादन फिर्ता प्राविधिक समितिको संयुक्त बैठकको सिफारिसलाई आधार मानेर नेपालमा पनि तत्काल यो प्रतिबन्ध लगाइएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ को २ र ३५ को ६ बमोजिम निर्देशन पालना गर्न व्यवसायीहरूलाई कूटनीतिक रूपमा सजग गराइएको छ। बजारबाट फिर्ता ल्याइएका बिस्कुटहरूलाई स्थानीय तह, स्थानीय प्रशासनका प्रतिनिधि तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक कर्मचारीहरूको रोहबरमा नष्ट गर्न वा उचित व्यवस्थापन गर्न भनिएको छ। यदि निर्देशनको अवज्ञा गरी प्रतिबन्धित बिस्कुट बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी विभागले दिएको छ।
यस निर्णयसँगै थोक तथा खुद्रा विक्रेताहरूलाई आफ्नो मौज्दात जाँच गरी तत्काल उक्त उत्पादनहरू बिक्रीबाट हटाउन आग्रह गरिएको छ। उपभोक्ताहरूको स्वास्थ्य र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिने विषयमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्दै यस घटनाले आयातित खाद्य वस्तुहरूको गुणस्तर परीक्षण र बजार अनुगमनलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता उजागर गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment