कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम प्रभावकारी, एक वर्षमा २ लाखभन्दा बढी मात्रा खोप

डिसी नेपाल
८ कार्तिक २०८३ ८:५०
4
Shares

कास्की। कास्कीमा महामारीजन्य रोगको सङ्क्रमण तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको पशुमा पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ। यस कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेट्दै दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका अनुसार पशुमा लाग्ने विभिन्न सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमले पशुमा रोग लाग्ने तथा फैलिने जोखिम घटाउन सहयोग पुर्‍याएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख डा. ग्रिष्म न्यौपानेका अनुसार नियमित खोप कार्यक्रमका कारण खोरेतलगायत महामारीजन्य रोगको सङ्क्रमण विगतको तुलनामा उल्लेख्य रूपमा घटेको छ। समयमै खोप लगाउँदा पशुको स्वास्थ्य संरक्षण हुनुका साथै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगको जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुगेको उनले बताए।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९ र क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ मात्रा खोप लगाइएको थियो। त्यसैगरी, डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको कार्यालयले जनाएको छ।

पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा एक करोड ३४ लाख ९२ हजार ७५० रुपैयाँ खर्च भएको थियो। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लामा १७२ जना खोपकर्ता परिचालन गरिएको थियो।

डा. न्यौपानेका अनुसार कार्यक्रमले पशुपालकलाई पशुमा रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिन समयमै खोप लगाउने र आवश्यक पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ।

पशु विकास अधिकृत सहदेव पौडेलले महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने भएकाले नियमित खोप, रोगको निगरानी तथा समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने बताए। पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम कम गर्न पनि पशु स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *