जाडो सुरु भएसँगै गण्डकीमा डेंगु सङ्क्रमण घट्यो
कास्की। वर्षायाम सकिएर जाडो सुरु हुन थालेसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण दर घटेको छ। यस वर्ष सबैभन्दा बढी गत अगष्टमा एक हजार २७४ मा डेंगु सङ्क्रमण पुष्टि भएकामा अक्टुबर लागेयता ४२५ जनामा सङ्क्रमण देखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ।
केन्द्रका महानिर्देशक मनमोहन मिश्रका अनुसार गत जुलाईदेखि डेंगु सङ्क्रमणको दर बढ्न सुरु गरेको थियो। सेप्टेम्बरमा एक हजार १९१ जनामा यो रोग देखिएको थियो। यस वर्ष हिमालपारिको मनाङबाहेक सबै जिल्लामा डेंगुकाे सङ्क्रमण फैलिएको महानिर्देशक मिश्रले बताए। सबैभन्दा बढी बागलुङ जिल्ला प्रभावित भएको उनको भनाइ छ।
गत जनवरीयताका ४३ हप्तामा गण्डकी प्रदेशभित्र तीन हजार ५७६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको केन्द्रको आँकडाले देखाएको छ। “एकै हप्तामा २७४ जनासम्ममा सङ्क्रमण देखिएको थियो। पछिल्लो ४३औँ हप्तामा जम्मा ६९ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ”, महानिर्देशक मिश्रले भने, “जाडो याममा भने यो रोग न्यून रूपमा मात्र देखा पर्छ।” गत जनवरीमा ३५, फेब्रुअरीमा ३७ र मार्चमा जम्मा २६ जनामा डेंगु देखिएको थियो।
पछिल्लो हप्ता अक्टुबर १९ देखि २५ सम्मको आँकडा अनुसार पर्वतमा २०, गोरखा र कास्कीमा १३/१३, म्याग्दीमा छ, बागलुङमा पाँच, लमजुङमा चार, स्याङ्जा र तनहुँमा तीन/तीन, मुस्ताङ र नवलपुरमा एक/एक जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको महानिर्देशक मिश्रले जानकारी दिए।
“सङ्क्रमण दर घट्दै गएको छ, कात्तिक अन्तिमसम्म डेङ्गी सङ्क्रमणको जोखिम कायमै हुने भएकाले सावधानी भने अपनाउनुपर्छ”, उनले भने।
सङ्क्रमण बढेपछि यहाँका विभिन्न स्थानीय तहमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगुले प्रकोपको रुप लिन सक्ने भएकाले डेंगुलाई सामान्य रुपमा लिन नहुने चिकित्सक बताउँछन्।
डेंगु नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने चिकित्सकको भनाइ छ। डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने महानिर्देशक मिश्रले बताए।
डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उनको भनाइ छ। डेंगु सार्ने लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र दिनमा मात्र टोक्ने भएकाले सर्तकता अपनाउनुपर्ने उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment