एनपीएलको तेस्रो संस्करणमा नेपाली खेलाडी सबै खेलमा ‘म्याच विनर’ बन्दै बलिङ र ब्याटिङमा वर्चस्व
काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीहरूले उच्च तथा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन्। कात्तिक ९ गतेदेखि सुरु भएको यस प्रतियोगितामा हालसम्म छ वटा खेलहरू सम्पन्न भएका छन्।
हालसम्म सम्पन्न भएका छवटै खेलमा नेपाली खेलाडीहरू नै ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ घोषित भएका छन्। एनपीएलको इतिहासमा यसरी लगातार छ खेलसम्म नेपाली खेलाडीहरू नै प्लेयर अफ दी म्याच बनेको यो पहिलो रेकर्ड हो।
लिगको पहिलो खेलमा लुम्बिनी लायन्समा आबद्ध स्पिनर शेर मल्ल, दोस्रो खेलमा चितवन राइनोजमा आबद्ध कमलसिंह ऐरी र तेस्रो खेलमा कर्णाली याक्समा आबद्ध स्पिनर युनिसविक्रम ठकुरी ‘प्लेयर अफ दी म्याच’ घोषित भएका थिए।
यस्तै, चौथो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्समा आबद्ध १७ वर्षीय बलर राहुल यादव र छैटौँ खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन्।
बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको सनसनीपूर्ण जित निकाल्यो, जसमा कप्तान सोमपाल कामीले अलराउण्ड प्रदर्शन गर्दै अविजित ६२ रन बनाउनुका साथै बलिङतर्फ पनि ४ विकेट हात पारे र म्यान अफ दी म्याच बने।
बिहीबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं गोर्खाजमाथि ८ विकेटको जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव चम्किए। काठमाडौँको पारी ध्वस्त पार्ने क्रममा राहुलले ४ विकेट चट्काउँदै म्यान अफ दी म्याचको उपाधि जिते।
यसैगरी, बुधबार सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे। पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउने क्रममा दीपेन्द्रले अविजित ५१ रन र १ विकेट हात पार्दै खेलको उत्कृष्ट खेलाडी बने।
मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराउँदा युनिसविक्रम ठकुरीले ३ विकेट लिँदै प्लेयर अफ दी म्याच भए भने मंगलबार नै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगरमाथि ८ रनको जित निकाल्दा कमलसिंह ऐरीले ४ विकेट लिँदै उत्कृष्ट खेलाडी घोषित भए।
यसअघि सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई हराउँदा ३ विकेट झार्दै शेर मल्ल म्यान अफ दी म्याच बनेका थिए।
जारी एनपीएलमा हालसम्म पाँचवटा अर्धशतक प्रहार भएका छन्, जसमध्ये ३ वटा नेपाली र २ वटा विदेशी खेलाडीको नाममा रहेको छ। अर्धशतक हिर्काउने नेपाली खेलाडीहरूमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका ओपनर ब्याटर लोकेश बम रहेका छन् भने विदेशी खेलाडीहरूमा जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलान रहेका छन्।
बलिङ र ब्याटिङतर्फ पनि नेपाली खेलाडीहरू नै शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका छन्। बलिङतर्फ जनकपुर बोल्ट्सका राहुल यादव पहिलो स्थानमा छन् भने उनले २ खेलमा ६ विकेट लिएका छन्।
समान दुई खेलबाट समान ५ विकेट लिएका कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। दुई खेलबाटै ४ विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत सिंह चौथो स्थानमा रहँदा पाँचौँ स्थानमा भने एक खेलबाट ४ विकेट लिएका लुम्बिनीका नेपाली बलर किशोर महतो अटाएका छन्।
यस्तै, ब्याटिङको पहिलो स्थानमा दुई खेलबाट एक अर्धशतकसहित ११३ रन जोडेका विराटनगरका लोकेश बम रहेका छन्। लोकेश यस प्रतियोगितामा व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी हुन्, उनले कर्णालीविरुद्ध ८७ रन जोडेका थिए।
दोस्रो स्थानमा दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन्। ब्याटिङको तेस्रो स्थानमा जनकपुरका मोइन अली (एक खेलमा एक अर्धशतकसहित ७७ रन) र चौथो स्थानमा कर्णालीका आरिफुल इस्लाम (दुई खेलबाट ७५ रन) रहेका छन्। पाँचौँ स्थानमा भने कर्णालीका नेपाली ब्याटर पवन सराफले २ खेलबाट ७३ रन हिर्काउँदै स्थान बनाएका छन्।
विश्वचर्चित खेलाडीहरू समेत सहभागी यस प्रतियोगितामा नेपाली खेलाडीहरूले गरेको प्रदर्शनप्रति नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उच्च प्रशंसा गरेका छन्।
उनले भने, ‘विश्वका चर्चित खेलाडी समेत सहभागी एनपीएलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै प्रशंसनीय छ। हामीले नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेका हौं, जुन नेपाली खेलाडीले देखाइरहेका छन्।’
प्रतियोगितामा उच्च स्कोर बनाउने टोली कर्णाली बनेको छ जसले १८७ रन बनाएको थियो भने न्यून स्कोर बनाउने टोलीमा सुदूरपश्चिम ८७ रनमा समेटिन पुगेको थियो।
प्रतियोगिताको उच्च साझेदारी भने जनकपुरका शैफ हसन र मोइन अलीबीच रहेको छ, जहाँ उनीहरूले काठमाडौँविरुद्ध तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुनेछ।
No ads found for this position




Facebook Comment