‘अर्नब’ चक्रवातको प्रभाव: काठमाडौंसहित देशभर निरन्तरको झरी, जनजीवन प्रभावित

डिसी नेपाल
१३ कार्तिक २०८३ १४:१२
8
Shares

काठमाडौं।  बंगाालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ। बिहानैदेखि परेको झरी र चिसोका कारण सर्वसाधारणको दैनिक आवतजावत, सडक यातायात तथा आम जनजीवन नराम्ररी प्रभावित बनेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ।

चक्रवातको प्रत्यक्ष असरले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने ती प्रदेशका केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ। वर्षासँगै काठमाडौँ उपत्यकालगायत हिमाली तथा पहाडी भेगमा मौसम चिसिँदै गएको छ।

मौसममा आएको यो परिवर्तनका कारण पहाडी तथा जोखिमयुक्त स्थान र सडक आसपास पहिरो जान सक्ने जोखिम बढेको छ।

जसका कारण सडक सञ्जाल र हवाई यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा विशेष ध्यान दिन र पूर्वसावधानी अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना कायमै रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

यसैबीच नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नपछि क्रमिक रूपमा कम हुँदै जानेछ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिए, “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुँदै जाने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।”

भारतमा शक्तिशाली चक्रवातका रूपमा रहेको ‘अर्नब’ बलियो न्यूनचापीय प्रणालीका रूपमा विकसित भए तापनि नेपाल प्रवेश गर्दा कमजोर बनेको छ। यसले गर्दा नेपालमा हुने वर्षा, हिमपात तथा हावाहुरीको समग्र असर सामान्य मात्र रहेको विभागको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *