पत्रकार पक्राउ गर्ने राज्यको कदम सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : महामन्त्री प्रदीप पौडेल

डिसी नेपाल
१३ कार्तिक २०८३ १९:३८
4
Shares

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सम्प्रेषणकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई गिरफ्तार गर्ने कार्यप्रति घोर आपत्ति जनाउँदै यसलाई सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भनेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्तिको दुरुपयोगबारे खोजीनीति गरेर नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक अधिकार र कर्तव्य भएको उल्लेख गरेका छन्।

प्रकाशित समाचारप्रति आपत्ति वा असहमति भए त्यसको निरूपण गर्ने कानुनी र संवैधानिक बाटाहरू खुला हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर सञ्चारकर्मीलाई तर्साउन खोज्नु विधिको शासनविपरीत भएको उनको भनाइ छ। “प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,” पौडेलले भनेका छन्।

विगतमा पनि मिडियालाई आतंकित पार्ने प्रयास भएको र अहिले पुनः सोही अराजक प्रवृत्ति राज्यसंयन्त्रबाटै दोहोरिनु लज्जास्पद भएको भन्दै उनले सरकारलाई आफ्ना गैरकानुनी र स्वेच्छाचारी कदम तत्काल सच्याउन सचेत गराएका छन्।

पौडेलले पक्राउ परेका पत्रकारहरूको अविलम्ब र ससम्मान रिहाइ, सञ्चारगृहहरूमाथिको हस्तक्षेप तथा निगरानी अन्त्य र प्रचलित कानुनी प्रक्रियामार्फत मात्र सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *