पत्रकार धरपकडप्रति रास्वपाको आपत्ति, नियन्त्रणमा लिइएकाहरूलाई बिनासर्त रिहा गर्न माग
काठमाडौं । समाचार लेखेकै आधारमा प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाले विज्ञप्ति जारी गर्दै कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधिहरू विधिको शासन र लोकतान्त्रिक आचरणअनुकूल नभएको उल्लेख गरेको छ। प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको पार्टीको ठहर छ।
समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु पत्रकारको व्यावसायिक अधिकार र पेसागत धर्म भएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचार सामग्रीप्रति विमति वा गुनासो रहेका खण्डमा परीक्षण र निरूपणका लागि स्थापित न्यायिक तथा वैधानिक निकायहरू क्रियाशील छन्। नियमनकारी निकायलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो।”
रास्वपाले गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
साथै, भय र त्रासका अगाडि नझुकी निर्भीकतापूर्वक सत्य र निष्ठाको पत्रकारिता निरन्तर जारी राख्न आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ। संविधानप्रदत्त ‘पूर्ण प्रेस स्वतन्त्रता’ र सञ्चारकर्मीको पेसागत सुरक्षाका पक्षमा आफूहरू सदैव अग्रमोर्चामा उभिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment