काठमाडौंमा ‘ग्लोबल अथर अवार्ड २०२६’ हुँदै, विश्वभरका ४५ लेखक सम्मानित हुने

डिसी नेपाल
१४ कार्तिक २०८३ १३:१९
12
Shares

काठमाडौं । ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘ग्लोबल अथर अवार्ड २०२६’ आयोजना हुने भएको छ ।

आगामी सन् २०२६ नोभेम्बर १ तारिख अर्थात भोलि आइतबारका दिन काठमाडौंस्थित दुसित प्रिन्सेस होटलमा हुने कार्यक्रममा विश्वका विभिन्न देशका प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा टोलीको नेतृत्वमा कार्यक्रम आयोजना हुन लागेको हो । साहित्यिक उत्कृष्टताको सम्मान गर्ने, समाजमा लेखकहरूको योगदानको पहिचान गराउने तथा विभिन्न राष्ट्रबीच आपसी सम्बन्ध सुदृढ बनाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

अन्तर्राष्ट्रिय साहित्यिक जमघटमा नेपाललगायत भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्स (दुबईसहित) बाट ४५ जना लेखक तथा सम्मानित व्यक्तित्वहरूको सहभागिता रहने खड्काको भनाइ छ ।

यसले विभिन्न देशका लेखक, पाठक र समुदायबीच आपसी समझदारी तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान उनले जानकारी दिइन् ।

कार्यक्रममा प्राज्ञिक क्षेत्र, साहित्य, अनुसन्धान तथा पूर्वसांसद प्राडा चन्दा कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने छिन् ।

त्यसैगरी, कार्यक्रममा प्राडा. सुरेन्द्र केसी, भुवनहरि सिग्देल, एचआरएच. राजकुमारी मुफिदा राय्या मुबारोक, लेखक तथा एनआरएनएका संस्थापक भीम उदास, प्राध्यापक श्रीधर खत्री, डा. रोहित गुप्ता, उषा शेरचन, प्राडा. सनतकुमार वस्ती, डा. सच्चिदानन्द शाण्डिल्य, दीपेन्द्र पुरुष ढकाल, कर्ण शाक्य, प्रकाश सायमी, तारा बराल, अजय देशार, डा.सुरेशराज शर्मा र सुरेन्द्र बहादुर पाण्डेलगायतका विशिष्ट व्यक्तित्वहरूलाई निम्ता पठाइएको संस्थाकी संस्थापक खड्काले जानकारी दिइन् ।

अवार्ड समारोह केवल साहित्यिक सम्मानमा मात्र सीमित नरही नेपालको मौलिक सांस्कृतिक पहिचान, परम्परागत सीप र हस्तकलालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यमा समेत केन्द्रित रहने उनको भनाइ छ ।

स्थानीय कालिगढ, उद्यमी तथा साना व्यवसायीहरूलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर जुटाइ नेपाली सिर्जनशील उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

संस्थापक खड्काले साहित्यले राष्ट्र, संस्कृति र पुस्ताहरूलाई जोड्ने अद्भुत काम गर्ने बताउँदै यस कार्यक्रममार्फत नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परागत हस्तकलालाई विश्वसामु परिचित गराउन पाउनु गर्वको विषय भएको धारणा व्यक्त गरेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *