वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

डिसी नेपाल
१४ कार्तिक २०८३ १३:३५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताएका छन् ।

उनका अनुसार बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहेको छ । तर, बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको हो । निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए ।

उनले भने, ‘बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या भएको हो। निर्माण कार्यका क्रममा ड्रेनेजसमेत अवरुद्ध हुँदा पानी निकासमा कठिनाइ भएको छ । बिहानैदेखि पानी निकासका लागि आवश्यक प्रयास गरिरहेका छौँ । तर लगातारको वर्षाका कारण मैदानलाई खेल्न योग्य बनाउन चुनौती भइरहेको छ ।’

पानीको निकास सहज बनाउन जेसीभी प्रयोग गरी तीन नम्बर गेटतर्फको अवरोध हटाइएको र मैदानभित्र जमेको पानी बाहिर निकाल्न खाल्डो खनेर निकासको व्यवस्था गरिएको सिंहले जानकारी दिए। त्यसैगरी, पाँचदेखि छवटा मोटर प्रयोग गरेर मैदानमा जमेको पानी बाहिर फाल्ने तयारी गरिएको छ ।

उनका अनुसार मुलपानी र अन्य स्थानबाट समेत आवश्यक उपकरण तथा सुपर सोपर मगाइएको छ । तर, मैदानको बनावट र बाहिरबाट निरन्तर पानी आइरहेकाले मैदान सुकाउन चुनौती रहेको उनको भनाइ छ ।

‘आजको खेल सञ्चालन गर्न निकै गाह्रो छ । सम्भावना पनि न्यून छ,’ उनले भने, ‘मौसम सफा भएर पाँचदेखि सात घण्टासम्म समय पाए भोलिको खेलका लागि मैदान तयार पार्ने प्रयास गर्न सकिन्छ।’

सिंहले आज दिनभरि र रातिसम्म वर्षा भइरहे भोलिको खेल सञ्चालनमा समेत समस्या हुन सक्ने बताए । मैदानमा पानी निकाल्ने उपकरण प्रयोग गरे पनि बाहिरबाट पानी आइरहे अवस्था सहज नहुने उनको भनाइ छ ।

यसैबीच, खेल रद्द भएपछि टिकटको रकम फिर्ता गर्नुपर्ने भन्दै समर्थकहरूले उठाएको विषयमा पनि उनले प्रतिक्रिया दिएका छन् । खेल हेर्न नपाएका दर्शकको माग जायज रहेको उल्लेख गर्दै टिकटसम्बन्धी विषयमा आयोजकले आवश्यक निर्णय लिनुपर्ने उनले बताए । तेस्रो चरणको नेपाल प्रिमियर लिग(एनपीएल) कात्तिक ९ गतेदेखि जारी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *