एनआरएनए रोमानियाको नयाँ कार्यसमितिले लियो शपथ: अध्यक्षमा गोमा देवी थापा मगर चयन

डिसी नेपाल
१६ कार्तिक २०८३ ७:३९
20
Shares

बुखारेस्ट, रोमानिया।   गैरआवासीय नेपाली संघ (एनआरएनए)  राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रोमानियाको नवनिर्वाचित २५ सदस्यीय कार्यसमितिले आइतबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेको छ।

राजधानी बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा आयोजित एक भव्य समारोहबीच नवनिर्वाचित अध्यक्ष गोमा देवी थापा मगरसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको विधान, उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै शपथ लिएका हुन्।

कार्यक्रममा एनआरएनए का डा. हेमराज शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, क्षेत्रीय उपसंयोजकहरू बाबाराजेश्वरी थापा, तीर्थ धमला, निरपेश गिरी र संघर्ष के.सी. को विशेष आतिथ्य रहेको थियो।

साथै, कार्यक्रममाका पूर्वसचिव भीमकमल के.सी., आइसीसी सदस्य सुरेन्द्र गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ता तथा रोमानियामा क्रियाशील नेपाली समुदायका बाक्लो उपस्थिति रहेको थियो।

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले रोमानियामा कार्यरत नेपाली श्रमिकहरूको हकहितको संरक्षण, नेपाली समुदायबीचको सुदृढ एकता, संस्थागत पारदर्शिता र सामाजिक सेवाका विभिन्न पक्षमा विस्तृत छलफल गरेका थिए।

प्रवासमा रहेका नेपालीहरूले भोगिरहेका समस्याहरूको समाधान गर्न तथा संस्थालाई थप जिम्मेवार, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। नवनिर्वाचित कार्यसमितिले रोमानियामा रहेका नेपालीहरूको हित संरक्षण र आपसी सहयोगलाई विस्तार गर्दै संस्थालाई सबैको साझा र विश्वसनीय चौतारीका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

यस पटक चयन भएको २५ सदस्यीय नवनिर्वाचित कार्यसमितिमा गोमा देवी थापा मगर अध्यक्ष रहनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा राजु लामा चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षहरूमा सागर क्षेत्री, सुरेन्द्र लामा, थमन गुरुङ र टेक्सुराम राई रहनुभएको छ भने महासचिवमा गोविन्द सुब्बा जिम्मेवारीमा आएका छन्।

सचिवहरूमा माधव घिमिरे, सरोज खनाल, कृष्ण बहादुर बि.क., मानबहादुर ब्लोन तामाङ र रञ्जित तामाङ गोले चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी राजु राना मगरले पाउनुभएको छ भने सहकोषाध्यक्षमा शशी लामा रहेका छन्।

यसैगरी, कार्यसमिति सदस्यहरूमा मनिष खत्री, अनिल पाण्डे, सन्तोष थापा मगर, अम्बरबहादुर तामाङ, गन्दीप मगर, लिला देवी ढकाल, ऋषिराम घिमिरे, म्याक्स सिंह, रोशन कुमार औरी, रुद्रबहादुर थामी र रमेश गिरि चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहणसँगै एनआरएनए एनसीसी रोमानियाले आगामी कार्यकालका लागि आफ्ना संस्थागत गतिविधिहरूलाई थप व्यवस्थित, गतिशील र नेपाली समुदायमुखी बनाएर लैजाने विश्वास व्यक्त गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *