बीसीसीआइको अध्यक्ष बनेपछि सौरभ गांगुलीले धोनीको भविष्यका विषयमा के भने ?

डिसी नेपाल
३० असोज २०७६ ११:२५

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी विश्वकपपछि नै राष्ट्रिय टिमबाट बाहिर छन् । विश्वकपपछि भारतले वेष्ट इण्डिज र दक्षिण अफ्रिकासँग सिरिज खेल्यो तर दुवै सिरिजमा धोनी टिममा परेनन् । यही बीचमा भारतीय क्रिकेट बोर्ड बीसीसीआइको अध्यक्षमा अर्का पूर्वकप्तान सौरव गांगुली निर्वाचित भए । गांगुली कप्तान हुँदा उनको कप्तानीमा धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् र पछि धोनी कप्तान भएपछि उनको कप्तानीमा गांगुलीले पनि खेलेका छन् । यही कारण गांगुली बीसीसीआइ अध्यक्ष भएपछि उनले धोनीको भविष्यको बारेमा ठोस फैसला गर्ने अपेक्षा गरिएको छ ।

बीसीसीआइको अध्यक्ष भएपछि गांगुलीले बुधबार संचारकर्मीसँग कुरा गर्दै आफूले धोनीका विषयमा २४ अक्टोबरमा टिमका छनोटकर्ताहरुसँग कुरा गर्ने बताएका छन् । २४ अक्टोबरमा बंगलादेशविरुद्धको सिरिजको लागि भारतीय टिमको छनोट गर्ने कार्यक्रम छ । सोही दिन गांगुलीले धोनीका विषयमा कुरा गर्ने बताएका हुन् । भारतमै हुने बंगलादेशसँगको सिरिजमा ३ टि–३० र त्यसपछि २ टेस्ट खेलिनेछन् ।

गांगुलीले बंगाल क्रिकेट संघको मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै भने ‘मैले २४ अक्टोबरमा छनोटकर्ताहरुलाई भेट्नेछु र यस विषयमा उहाँहरुले के सोचिरहनुभएको छ भन्ने विषयमा कुरा गर्नेछु । त्यपछि मैले आफ्नो विचार राख्नेछु ।’ धोनीको सन्यासको विषयमा गांगुलीले धोनी स्वयं के चाहन्छन् भन्ने कुरा आफूले सोध्न चाहेको बताए । २४ अक्टोबरमै गांगुलीले कप्तान विराट कोहलीसँग पनि भेट्नेछन् । यद्यपि धोनीले बंगलादेशविरुद्ध ३ टि–२० को सिरिजमा टिममा स्थान बनाउने सम्भावना न्यून रहेको बताइएको छ । टेस्टमा त धोनी यसै पनि हुने छैनन् किनकि उनले टेस्टबाट सन्यास लिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *