तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री

डिसी नेपाल
८ कार्तिक २०७६ ११:४८

भक्तपुर । उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ।

भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ।

खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र बिना प्याकेजिङ सामानमा लेबल राख्ने, लेबल बिना सामग्री बिक्री वितरण गर्ने, किराना पसल र मिनिमार्टमा मादक पदार्थ मदिरालगायतको सामग्री बिनास्वीकृति बिक्री गरेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

दर्ता र स्वीकृति नलिई साख मल्टी स्टोर्स र एस।आर।स्टोरले मदिरा बिक्री गरेको, किराना पसल दर्ता गरी मिनिमार्ट सञ्चालन गरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र बिना बिक्री गरेको, सफारी हेल्थ सनफ्लोर तेलमा उल्पादन मिति प्रस्ट नभएको र ढक तराजुसमेत नापतौल विभागमा नवीकरण नगरेको पाइएको छ।

त्यसैगरी दर्ता नगरी सञ्चालन भएको गौरी शंकर मःमः पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिँदै ग्यास चुलो जफत गरेको, फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा राखेको पाइएको छ । ड्रिमल्यान्ड किचेनमा कामदारहरुले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोग नगरेको, फोहर रहेको पाइएको छ भने मधुवन स्विट्स पसल तीन दिनभित्र दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ।

यता रामदेवी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले धेरै पसललाई दर्ता गर्न निर्देशन दिइएको उनले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *