एएफसी फुटसल छनोटमा नेपाल जितविहिन
काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल जितविहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार भएको अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहिन घर फर्किएको हो ।
इरानको उर्मियामा खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरिमा ल्याए।
१२ औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दै २–१ ले पछि परेको नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफगानिस्तानका अक्बर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३–२ ले पछि पर्यो।
दोस्रो हाफमा अफगानिस्तानले थप तीन गोल गर्यो । २७औं मिनेटमा मेहदी हशेमीले तथा ३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६–२ गोले पराजित भएको हो।
अफगानिस्तानसँगको हारसँगै सेन्टर र साउथ जोनको समूह ‘ए’ मा रहेको नेपाल अंक विहिन रहने एक्लो टिम बन्यो । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो ।
नेपाललाई हराएको अफगानिस्तान सान्त्वना जितसहित घर फर्कियो । अफगानिस्तानले ३ अंक जोड्यो। यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् । फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment