बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार

डिसी नेपाल
१४ साउन २०७७ २३:१९

कैलाली। मंगलबार रातिदेखि परेको वर्षाका कारण कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन्। भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए।

बाढीमा फसेका स्थानीय ४० वर्षीय बलबहादुर चौधरी, २८ वर्षीय बिक्की शाही र ३२ वर्षीय हेमन्त शाहीलाई प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ। बेपत्ताको खोजी कार्य भइरहेको विष्टले बताए। वर्षासँगै स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका वडा नं २, ३, ५ र ८ का गरी ४५० घर डुबानमा पर्दा एक हजार ९७७ जना विस्थापित भएका छन्। डुबानका कारण घरभित्रको धनमाल भिजेर नष्ट भएको छ। विस्थापितलाई नजिकको सुरक्षित ठाउँमा सारिएको छ।

‘मोटर बोड’सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बुधबार बिहानैदेखि उद्धार गरेको थियो। कुलरिया खोला र पथरैया नदीको बाढीका कारण जानकी गाउँपालिकाको वडा नं १, २, ४, ५, ७ र ८ नराम्रोसँग प्रभावित भएकामा वडा नं ३ र ७ का झण्डै १०० परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए। कतिपय कच्ची घरसमेत भत्किएर क्षति पुगेको भए पनि यसको यकीन विवरण आउन बाँकी छ ।

“डुबानका कारण धेरै परिवारको घरभित्रको अन्न भिजाएको र भाँडाकुँडा बगाएर क्षति पु¥याएको छ”, अध्यक्ष चौधरीले भने, “विस्थापितलाई नजिकको विद्यालय र सेल्टर हाउस (डुबानबाट जोगिन बनाइएको घर)मा राखिएको छ।”

यस्तै पथरैया र काँडा नदीमा आएको बाढीका कारण जोशीपुर गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का झण्डै दुई हजार ५०० घरपरिवार डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए। घरमा पानी पसेपछि धेरै परिवारको धनमाल भिजेर क्षति पुगेको चौधरीले बताए।

गाउँपालिकाको पुरानो भवनमा समेत पानी पसेपछि भवनमा राखिएको १९बोरा चामलसमेत नष्ट भएको जनाइएको छ। टीकापुर नगरपालिकाको ३, ७, ८ र ९ वडासमेत डुबानका कारण प्रभावित भएका छन्। सो क्षेत्रमा प्रभावित भएका परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ।

यसैबीच कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव बुधबार मध्याह्नमा खतरा नजिक पुगेकामा अपराह्नपछि केही घटेको छ। इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटर पुगेकामा अपराह्न घटेर १० दशमलव तीन मिटरमा आइपुगेको बताए। यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ।

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेपछि बर्दिया र कैलाली जिल्लाको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन बिहान सूचना दिइएको थियो। कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न खोलामा पनि बहाव बढेको छ। उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमवाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका छन्।

वर्षासँगै उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ। अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ। वर्षाका कारण कैलाली जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *