विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

डिसी नेपाल
२७ असार २०७५ ८:४०

काठमाडौँ, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।

रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ ।

क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ ।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो ।

अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।

यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डका विजेताले फाइलनमा फ्रान्ससंग सामना गर्नेछन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *