रग्बी विश्वकपको ट्रफी नेपाल ल्याइँदै

डिसी नेपाल
१८ मंसिर २०७५ ११:५२

काठमाडौं। जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ।

विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए। नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ। नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु–याइने कार्यक्रम रहेको उनले जानकारी दिए।

“विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वायरलगायत स्थानमा घुमाइनेछ”, उनले भने। ट्रफी मङ्सिर २० गते सगरमाथाको आधार शिविरमा लगिनेछ। मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ।

त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ। फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कूल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ।

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो। नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो। रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ। एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो। विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *